विराटनगर, २ कार्तिक । झापा र उदयपुरमा सोमबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
झापाको शिवसतासी–७ दुधेमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय श्री प्रसाद पौडेलको ७ बर्षिय छोरा रोज पौडेल रहेका छन् । उनलाई अपरान्ह ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ ख ७८७० नम्बरको माइक्रो बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका बालकको लाईफलाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिगई माइक्रो बसका चालकलाई नियन्त्रणमा लिई कानूनी प्रकृया भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
त्यसैगरी उदयपुरको कटारी–२ स्थित मिर्चैया–कटारी सडक खण्डमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी–७ बस्ने मोटरसाइकल चालक ५० बर्षिय कुमार थापा रहेका छन् । मिर्चैयाबाट कटारी तर्फ आउने क्रममा उनी सवार को १० प ८२०२ नम्बरको मोटरसाइकललाई अपरान्ह ३ बजेतिर बा १५ च ८५९८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । ठक्करबाट थापाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी बेलस्रोतबाट प्रहरीको टोली खटिगई आवश्यक कानूनी प्रकृया भइरहेको छ भने ठक्कर दिने भ्यानका चालक फरार रहेकाले खोजीकार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।