राजविराज, २९ असोज । सप्तरीका युवाहरुले थालेको ५० हप्ते सरसफाई अभियानको सातौं हप्ताको शनिवार सदरमुकाम राजविराजको वडा नम्वर ५ मा सरसफाई गरिएको छ ।
कञ्चनपुर रोडदेखि शान्ति टोलसम्म सरसफाई गरिएको हो । सडकमा फालिएका फोहोर वस्तुका साथै नाला र छेउहरुमा रहेका सम्पूर्ण फोहोर युवाहरुले सफा गरेका छन् ।
युवाहरुले उपकरणसहित सरसफाई गर्न पुग्दा केहि स्थानीयहरुले समेत सहयोग गरेका छन् । उनीहरुले आफ्नो घरमा रहेको कोदालो लिएर सरसफाईमा सहयोग पु¥याएका थिए । आगामी दिनमा आफ्नो घर अगाडि फोहोर नगर्ने प्रतिबद्वता व्यक्त गर्दै स्थानीयहरुले युवाहरुको सकारात्मक कामको प्रशंसा गरेका छन् । युवाहरुले अगामी दिनमा कसैको घर अगाडि फोहोर पाइएमा त्यो फोहोर घरमा राखिदिने चेतावनी दिएका छन् ।
टोलमा स्थानीयहरुले फोहोर संकलन गरेर राखे पनि नगरपालिकाबाट संकलन गर्न नआएको भनी गुनासो गरेका छन् । फोहोर संकलन गरेर एकठाउँमा जम्मा गरी राखे पनि कर्मचारीहरुले पछिल्लो दुई महिनाभन्दा बढी समयदेखि फोहोर उठाउन नआएको स्थानीय संजीव यादवले बताए ।