राजविराज, २७ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले यसवर्षको विजयादशमी देवी मन्दिरहरुमा पूजाआजा तथा समर्थक भेंटघाटमा बिताएका छन् ।
अध्यात्मिक चिन्तन बोकेका उनले विजयादशमीको घटस्थापनाकै दिनदेखि उनले अधिकांश समय पूजाआजा तथा समर्थकसँगको भेंटघाटमा बिताएका हुन् । जनकपुरको लामो बसाईपछि उनले गृह जिल्ला सप्तरीसँगै मधेशका विभिन्न जिल्लामा रहेका शक्तिस्थलहरुमा हज्जारौं समर्थकका साथ पूजाआजा गरेका छन् । 
उनले गृह जिल्ला सप्तरीको छिन्नमस्ता गाउँ विकास समितिमा अवस्थित सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठ पुगेर पूजाआजा गरेका छन् । त्यहाँ स्थानीयवासिन्दाका साथै समर्थकहरुले डा. राउतलाई स्वागत तथा अभिनन्दन गरेको गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र मधेशीले जानकारी दिएका छन् ।
उनका अनुसार शक्तिपीठबाट फर्किने क्रममा कोचाबखारी, ईटहरी विष्णुपुरलगायतका गाविसहरुमा सर्वसाधारण जनताले फूलको माला लगाएर स्वागत गरेका छन् । उक्त गाउँहरुमा डा. राउतलाई हेर्न बालकदेखि बृद्धबृद्धासम्मको भीँड लागेको थियो ।
सप्तरी जिल्लाको भारदहस्थित प्रसिद्ध शक्तिस्थल कंकालिनी मन्दिरमा समेत पूजाआजा गर्नुकासाथै मन्दिरको अवस्थाबारे जानकारी लिएका छन् । यसैगरी मुस्लिम समुदायको महान पर्व मुहर्रमको अवसरमा आयोजित कार्यक्रममा डा. राउत सहभागी भएका छन् । 
राजविराज नगरपालिका–१ का सहीद दिलिप कुमार साहका आमाबुवासँग भेंटघाट गरेका छन् । बुधवार खर्चुहिया स्थित रन (मैदान)मा पुगेर कलात्मक दाहा तथा जङ्गी कला प्रदर्शनको अवलोकन गर्दै मुस्लिम समुदायलाई शुभकामना दिएका छन् । सोही क्रममा गठबन्धनका संयोजक राउतलाई स्थानीय मुस्लिम समुदायले माला लगाएर स्वागत गरेका छन् ।
यसैगरी डा. राउतले पर्साको जिल्लाको माइस्थान गहबामाई, बारा जिल्लाको कलैयास्थित
सिद्धेश्वर महादेव स्थान, राजदेवी मन्दिर, बरियारपुरको गढीमाई, सिमरौनगढ़को कंकाली मन्दिर, ऐतिहासिक रानीबास दरवार तथा रौतहट जिल्लाको मत्सरी, गङ्गापिपरा, शिवनगर, गरुडा लगायतका शक्तिस्थलहरुमा दर्शन तथा पूजाआजा गरेको डा. राउतको फेसबुक पेजमा उल्लेख छ ।राती १० बजेसम्म रौतहटको मन्दिरमा दर्शन तथा पूजआजा गरी सप्तरी सदरमुकाम राजविराज आइपुगेका छन् । हज्जारौं युवा तथा जनसमुदायले डा. राउतलाई भव्य स्वागत गरेका छन् । मधेशका विभिन्न मन्दिर तथा धार्मिक कार्यक्रमहरुमा सहभागी हुने क्रममा भएको स्वागत तथा सम्मान अविस्मरणीय रहेको उनले जनाएका छन् ।
तस्विर हरु सामाजिक सञ्जालबाट ।








