राजविराज, २६ असाेज । मुस्लिम समुदायको अर्को महान पर्व मुहर्रम बुधवार र विहीवार गरी सप्तरी सहित देशका बिभिन्न जिल्लामा बसोबास गर्दैआएका मुसलमानहरुले भब्यतापूर्वक मनाउँदै छन् ।
ईराकको करवाला मैदानमा यहुदीसँगको लडाईमा पैगम्बरका नाति असन हुसेन मारिएको दिनलाई सम्झना गर्दै यो पर्व मनाईदैआएको हो । ईश्वर एउटै हो भन्ने बिचारका पक्षधर र विरोधीहरु बीच करवाला मैदानमा युद्ध हुँदा असन हुसेनको टाउँको काटी भालामा गाँसेर अधर्मीहरुले खुशीयाली मनाएको राजविराज–९ का समिम अहमदले जानकारी दिए । उनका अनुसार सत्यका पक्षधर असन हुसेनको सहादत भएकै दिनको स्मरणमा मुहर्रम मनाईदैआएको छ । मुस्लिम समुदायकालागि यो पर्व खुशीयालीको नभई शोक एवम् शक्ति सञ्चयको पर्व भएको उनको भनाई छ ।
उर्दू तारेख अनुसार दशौं दिन मुहर्रम पर्व मनाईन्छ । तेस्रो र चौथो दिनदेखि मुस्लिम समुदायका युवाहरुले लाठी, भाला, फर्सा, तरबार, डाइगर, खुकुरीआदि हतियारको अभ्यास गर्ने गरेको समिमले बताए । पन्ध्र दिन अगाडिदेखि निकै मेहनतकासाथ निर्माण गरिएको दाहा, तजिया बनाएर रण (मैदान)मा राखिन्छ । कला कोशलता प्रदर्शन गर्दै सोही साँझ दाहालाई पोखरीको डिल, फूलबारी वा सार्वजनिक स्थानमा राखि समापन गर्ने परम्परा रहेको छ ।
मुहर्रमका अवसरमा दाहा तजिया बनाउने परम्परा रहे पनि हाल यो क्रम घट्दै युवावर्गले निशान (झण्डा) लिएर मनाउन थालिएको छ । असनको प्रतिक सिपर, तजिया, दाहा बनाएर लाठी तथा घरेलु हतियारको कला प्रदर्शन गर्दै मुहर्रम पर्व मनाईन्छ ।
मुहर्रमका अवसरमा सप्तरीसहित मधेशका जिल्लाहरुमा मुस्लिम समुदायका युवा, बृद्ध तथा बालकहरु समेत बुधवार हतियार कौशलता प्रदर्शन गरिरहेका छन् । बालकदेखि बृद्धसम्मको सहभागिता रहने यो पर्व यस वर्ष दुई दिन मनाईदैछ । उर्दू तारेखमा समय घटबढका कारण कतिपय स्थानमा बुधवारै मुहर्रम मनाईएको समिमले जानकारी दिए । उनका अनुसार अधिकांश स्थानमा भने विहीवार समेत मनाईनेछ ।
यो पर्वका अवसरमा राजविराजको गुलाब ग्यारेज, बिहारपुरको फूलबारी, राष्ट्रिय प्राथमिक विद्यालय थलहीको खेल मैदान, बिसहरियाको मुसहर्नियाँ, झल्हीको नहर, सारस्वरको गौरा रन, पातो, तरही, घोघनपुर, बनरझुलालगायतका स्थानहरुमा भव्य मेला आयोजना गरिएको छ । यसैगरी रौतहट, पर्सा, धनुषा, सिरहा, महोतरी, सुनसरी, मोरङ्गलगायत मधेशका जिल्लाहरुमासमेत मुहर्रम पर्व भव्यतापूर्वक मनाईरहेको जानकारी प्राप्त भएको छ ।