• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशका शक्तिस्थलहरुमा श्रद्धालुभक्तजनको भींड

मधेशका शक्तिस्थलहरुमा श्रद्धालुभक्तजनको भींड

राजविराज, २३ असोज । विजया दशमीको अवसरमा सप्तरी जिल्लाका देवी शक्तिपीठहरुमा पूजाआजा तथा दर्शन गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।
जिल्लाको सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठ, भारदहको कंकालिनी भगवती, सदरमुकाम राजविराजको चण्डी दुर्गा भगवती लगायतका शक्तिस्थलहरुमा भक्तजनहरुको घुइँचो बढेको हो । गत–विगतका वर्षहरुभन्दा यो वर्ष मन्दिरहरुमा श्रद्धालुभक्जनको चाप बढेको मन्दिर समितिहरुले जनाएको छ । यस वर्ष वातावरण सहज भएका कारण भारतबाट आउने श्रद्धालुभक्तजनको संख्यासमेत अत्यधिक रहेको जनाईएको छ ।
यस्तै बाराको गढीमाई, जनकपुरको राजदेवी माईलगायतका मन्दिरहरुमा हज्जारौंको संख्यामा श्रद्धालुभक्तजनको भींड लागेको हाम्रा स्थानीय सम्वाददाताहरुले जानकारी दिएका छन् । उक्त मन्दिरहरुमा शान्तिपूर्ण वातावरणमा पूजाआजा भईरहेको छ ।
छिन्नमस्ता, कंकालिनी, राजदेवीलगायतका शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा तथा बलि प्रदान व्यापक रुपमा भईरहेको छ । यता मन्दिरहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ । श्रद्धालुभक्तजनको सुविधालाई मध्यनजर गर्दै स्थानीय स्वयंसेवक तथा मन्दिर समिति समेत सक्रिय रहेको छ ।
यसैगरी पर्साको भगवती राधेमाई मन्दिरमा पनि विशेष पुजाआजा भईरहेको छ । मन्दिर संचालक समितिका अध्यक्ष एवंम् संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवको नेतृत्वमा मन्दिरको प्राङगणबाट विशेष पुजा गरि फुलपातिको डोलीसहित पावर हाउस स्थित विधुत प्राधिकरण कार्यलयमा प्राङ्गणमा दुर्गा माता, तेजारथ टोलमा रहेको ब्रम्हबाबा स्थान, यसैगरी वडा प्रहरी कार्यालय श्रीपुर प्रांगणमा रहेको माँ भवानी माताको समेत पुजा अर्चना गरिएको छ ।
यसै अवसरमा नेपाल प्रहरीको टोलिले विधिवत रुपमा पुजाआज गर्दै भगवती मातालाई सलामी अर्पण गरिएको । पुजाको अवसरमा राधेमाई मन्दिर सञ्चालक समिताका उपाध्यक्ष हजारी साह, हिरा गिरि, उदयनारायण लगायत हजारौँ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।