राजविराज, २२ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत यतिबेला गृह जिल्ला सप्तरीका सहीद परिवार तथा सर्वसाधारण जनतासँगको भेंटघाटलाई तिब्रता दिएका छन् ।
जनकपुरको लामो बसाईपछि उनी शुक्रवार मात्र गृह जिल्ला सप्तरी आइपुगेका हुन् । विजया दशमीको अवसर पारेर उनले मन्दिरहरुमा पूजाआजाका साथै भेंटघाटलाई तिब्रता दिएको गठबन्धनका सुरेन्द्र मधेशीले जानकारी दिएका छन् ।
शनिवार डा. राउतले तेस्रो मधेश आन्दोलनका शहिद परिवारजनसँग भेटेर घटना तथा पारिवारिक अवस्थाबारे जानकारी लिएका छन् । यसैक्रममा राजविराज नगरपालिका–१ का सहीद दिलिप कुमार साहका आमाबुवासँग भेंट गरेका छन् । मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका दिलिपको शालिक निर्माण हुनपर्नेमा सहीद परिवारले जोड दिएका छन् । छोरा–छोरीका शिक्षादीक्षा तथा लालनपालनको सुनिश्चितता हुन नसकेको भन्दै डा. राउत समक्ष गुनासो गरेका छन् ।
सहीदको बलिदानी खेर जान नदिने भन्दै उद्देश्यप्राप्तिकालाई आफूहरुको संघर्ष जारी रहेको बताउँदै संयोजक डा. राउतले भने ‘मधेशीमाथि अहिले पनि शोषण, दमन, अन्याय, अत्याचार एवम् विभेद कायमै छ, यस्तो विभिदबाट मुक्ति पाउन जनता प्रतिवद्ध हुनु आवश्यक छ । डा. राउतले सहिद परिवारले सहिद परिवारसँगको भेंटघाटलाई निरन्तता दिने गठबन्धनका साहले बताए । उनका अनुसार डा. राउत शनिवार लौनियाँ, कोचाबखारीलगायतका गाउँका सर्वसाधारण जनता तथा शुभचिन्तकहरुसँग भेंटघाट गरेका छन् ।