• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जीव हत्या रोकौं

यस संसारमा जति पनि जीव जीवात्मा छन्, ती सबै परमेश्वरका दृष्टिभित्र पर्ने जनविश्वास छ । परमेश्वरका श्रृष्टि भएका कारणले ती सबैले बाँच्न पाउनु पर्छ भन्ने मान्यता पनि नरहेको होइन । जसरी वनस्पति र हरियालीले हाम्रो वातावरणलाई सुन्दर र स्वच्छ तुल्याएका छन्, त्यसैगरी जीवजन्तुले पनि त्यसमाथि सुन्दरता थपेका हुन्छन् । हरियो घना जंगल सुनसान भयो भने त्यति सुन्दरता रहन्न जति त्यसभित्र कोइलीको ‘कुहू–कुहू’ बोल्दा मनमोहक लाग्दछ । त्यसैगरी जंगलभित्र बाघ, भालु, गैंडा, हरिण, जरायो, खरायोलगायत मृगशावकले ‘फुत्रुक फुत्रुक’ गर्दै नाचेको दृष्य त अति नै मनमोहक हुने गर्दछ । वन र वन्यजन्तुको महत्वलाई बुझेर नै नेपालमा अहिले वन्यजन्तुको शिकारमाथि प्रतिबन्ध लगाइएको छ । कतिपय वन्यजन्तु लोप हुने अवस्थामा पुगेका कारणले विश्वभरि नै यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन तथा बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणको व्यवस्था गरिएको छ । वन्यजन्तु सहितको जंगलमा प्राकृतिक दृश्यावलोकनकालागि विदेशी पर्यटकहरु समेत उल्लेख्य संख्यामा आउने गरेका छन् । तिनको संरक्षण भइदिए पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने कुरामा कुनै आशंका मान्नु पर्दैन । तर, केही लोभी, पापी र आपराधिक मनस्थितिका व्यक्तिले वन्यजन्तुको शिकार गरी तिनको अवयव तस्करी गर्ने गरेका कारण वन्यजन्तुहरुको सुरक्षाप्रति चिन्ता बढेको छ । ठूलो क्षति गरेर आफू कमाउने मनोवृत्ति पालेका त्यस्ता व्यक्तिहरुले वन्यजन्तु शिकार गर्ने, वन्यजन्तुमाथि प्रहार गरेर घाइते तुल्याईदिने लगायतका आपराधिक हर्कत गरेका कारणले त्यसप्रकारको अपराध नियन्त्रणप्रति अझै कडाईका साथ प्रस्तुत हुनु आवश्यक छ । मानिस झै पशुपनि संरक्षित र सुरक्षित हुनु आवश्यक मानिन्छ । पशुपंक्षीको संरक्षण पनि कुनै न कुनै रुपले प्रकृति र मानवहितकै लागि हुन भन्ने विषय दोहो¥याईरहनु नपर्ला ।
चौपायालाई पाल्ने, संरक्षण गर्ने कार्यबाट मानिसले मनग्य आम्दानी लिन सक्तछन् । खासगरी कृषि र पशुपालनलाई एकै साथ व्यवसायको रुपमा लैजाने बहुसंख्यक नेपालीहरुको परम्परा नै रहेको छ । अहिले दशैंको माहौल छ, यति बेला कतिपय मन्दिरहरुमा बोका, राँगा लगायत पशु चौपाया तथा पंक्षीको समेत बली दिने क्रम बढ्दो छ । पशुपंक्षीको अधिकारका बारेमा चिन्ता र चासो व्यक्त गर्ने व्यक्ति तथा संस्थाले यसप्रति चिन्ता व्यक्त नगरेका होइनन् । ‘अहिंसा परमो धर्म’ भन्ने मान्यता राख्नेले त बली होइन समस्त जीवको सुरक्षा र संरक्षणकालागि नै काम गर्न सक्नु पर्दछ । जीवहत्या होइन जीवको संरक्षणमा जोड दिनु सक्दा नै धर्मको साथसाथै हाम्रो प्राकृतिक परिवेशलाई अझ सुन्दर बनाउन सकिन्छ । पशुपंक्षी चौपायाको संख्या बृद्धिले हुने प्रत्यक्ष अप्रत्यक्ष लाभप्राप्तीसँगै प्राकृतिक सुन्दरता संरक्षणकालागि पनि तिनको हत्या होइन संरक्षणतर्फ सक्रियता बढाइनु पर्दछ । हामीले बोकाको साटो कुमिण्डो, धिरौलालगायतको बली दिएको पनि देखेकै हौं । बलि दिनु नै छ भने यस्तै विधि किन नअपनाउने ?