• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सार्वजनिक हुँदै ‘सुमिरन मैयाकें’ मैथिली भक्ति म्युजिक भिडिओ

सार्वजनिक हुँदै ‘सुमिरन मैयाकें’ मैथिली भक्ति म्युजिक भिडिओ

राजविराज, २० असोज । जननी फिल्म्स प्रा.लि.राजविराजको पहिलो प्रस्तुति ‘सुमिरन मैयाकें’ मैथिली भक्ति म्युजिक भिडिओ सार्वजनिक हुन लागेको छ ।
सात ओटा गीत रहेको उक्त भिडिओको लोकार्पण शुक्रवार राजविराज स्थित जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा एक समारोहका बीच लोकार्पण गरिने भएको हो । वरिष्ठ मैथिली अभियन्ता, साहित्यकार, फिल्मकर्मी एवम् कान्तिपुर एफएमबाट प्रसारित रेडियो कार्यक्रम ‘हेलो मिथिला’का सञ्चालक धीरेन्द्र प्रेमर्षिको प्रमुख आतिथ्यमा उक्त भिडिओको लोकार्पण गरिने जननी फिल्मस् प्रा.लि.की नायिका डोली सरकारले दिईन् ।
म्युजिक भिडिओमा समावेश गरिएका गीतहरुमा मैथिली, भोजपुरी फिल्म तथा नेपाली म्युजिक भिडिओहरुमा अभिनय गरिसकेकी चर्चित अभिनेत्री डोली सरकारको विषेश प्रस्तुति रहेको छ । सात ओटै गीतमा फरक–फरक नृत्य एवम् अभिनय गरेकी उनले यस म्युजिक भिडिओमा नृत्य संयोजन एवम् निर्देशन समेत गरेकी छिन् । मिथिला क्षेत्रका चर्चित मोडेल घनश्याम मिश्रा मुख्य मोडेलको रुपमा रहेको जनाईएको छ । खारिएका फिल्मकर्मी मिश्राले समेत यस म्युजिक भिडिओमा आफुलाई फरक रुपमा प्रस्तुत गरेका छन् ।
अन्य कलाकारहरुमा रङ्गकर्मी जिबछ दास, पल्लवी मिश्रा, चम्पा विक, गौतम, प्रियांशुलगायतका रहेका छन् । भिडिओ क्यासेटमा कनक भूधर शिखर वासिनी, हे अम्बे जगदम्बे दुर्गा भवानी, राजदेवी माँके, प्रेमसे सबकोइ बाजु यौ माँके जयकारा, छिन्नमस्ता माँ भवानीके दर्शन करै छी, माँ कंकालिनी हे महाकाली र फूल लोढए ल’ मैया कनि देर भ’ गेलै…गरी ७ ओटा गीत समावेश गरिएको छ । उक्त एल्बममा मैथिली भाषाका महाकवि विद्यापति रचित कनक भूधर शिखर वासिनी गीत विशेष आकर्षणको रुपमा रहेको छ । यस्तै अन्य गीतकारहरुमा सागरवीर कडारी, श्रीराम मण्डल, श्यामसुन्दर यादव र सन्तोष मण्डल रहेका छन् ।
चर्चित युवा निर्देशक एवम् श्रव्य–दृष्य सम्पादक सुर्यनारायण साह ‘बैजु’ले उक्त भिडिओको निर्देशन एवम् सम्पादन गरेका छन् । भक्ति म्युजिक भिडिओमा मुख्य सङ्गीतकार रुपमा शैलेन्द्र विश्वकर्मा (शैलेन्द्र विक) रहेका छन् भने दुई ओटा गीतमा कमल मण्डलको सङ्गीत रहेको छ । निर्मातामा पत्रकार, साहित्यकार एवम् कला संस्कृतिकर्मी श्यामसुन्दर यादव र कवि एवम् गीतकार समेत रहेका श्रीराम मण्डल रहेका छन् ।
चर्चित गायिका अञ्जु यादवले सात ओटै गीतमा समुधुर स्वर भरेकी छिन् । अन्य गायकहरुमा सोनु खङ्ग र केशव कर्णको कर्णप्रिय स्वर रहेको जननी फिल्म्स प्रा.लि.ले जनाएको छ । भिडिओ सम्पादन तथा छायाङ्कनमा छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साहले विशेष सहयोग गरेको निर्माण समूहले जानकारी दिएको छ ।