भारदह, १८ असोज । नेपाल स्थित वेलायती राजदूत रिचार्ड मोडेनले सप्तरीका बेरोजगार महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउनमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
नेपाल तथा वेलायतको सहयोगमा सञ्चालित १५ दिने बाँसको मुढा बनाउने तालिमको अनुगमनका क्रममा मंगलवार सप्तरीको भारदह आएका उनले यस्तो बताएका हुन् । विशेष गरेर तराई क्षेत्रमा बसोवास गर्ने महिलाहरु बेरोजगार रहेका कारण जीवीकोपार्जन अति नै कठिन भईरहेको बताउदै उनले यसकालागि आफुहरु विभिन्न संस्थामार्फत सिप सिकाएर लघु उद्यमी बनाउनमा सहयोग गरिहेको जानकारी दिए ।
उनले महिलाहरु लघु उद्यमी भएमा श्रीमान्सँगै आफुले पनि पैसा कमाउन थालेपछि तराई क्षेत्रमा रहेको गरिबी दुर गर्न पक्कै पनि मद्दत पुग्ने बताए । राजदुत मोडेनले स्थानिय स्तरमा रहेको समस्या र त्यसलाई निराकरण गर्ने उपाय बारे स्थानियहरुसँग छलफल समेत गरेका थिए ।
छलफलपछि उनले स्थानिय स्तरमा रहेको समस्या निदानका गर्नका लागि आफु आगामी दिनमा राम्रोभन्दा राम्रो कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आरएनएन संस्थाले आयोजना गरेको उक्त १५ दिने तालिममा जिल्लाका लौहजारा, भगवतपुर, वैरबा, मधुवापुर, त्रिकोल गाविस गरी २२ जना महिलाको सहभागितता रहेको छ । उक्त तालिम असोज २१ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । सप्तरीको पोर्ताहा गाविसमा सञ्चालित बाँसको मुढा बनाउने १५ दिने तालिमको बेलायती राजदूत रिचार्ड मोडन नेतृत्वको टोलीले निरीक्षण गरेका छन् । उक्त तालिमको समापन असोज २१ गते हुने जनाईएको छ ।