• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ग्रामिण सडक निर्माणमा जुटे छपकीका युवाहरु

राजविराज, १७ असोज । सरोकारवाला निकायलेसमेत ग्रामिण सडक निर्माण कार्यलाई बेवास्ता गरेपछि सप्तरीको जमुनी मधेपुरा वडा नम्वर ७ र ८ छपकीका युवाहरु सोमवारदेखि जनश्रमदान गरी सडक निर्माणमा जुटेका छन् ।
बर्खामा सडकमा खाल्टाखुल्टी हुनुकासाथै बाटो हिलाम्मय भएपछि त्यसक्षेत्रका वासिन्दालाई आवागमनमा समस्या झेल्नुपर्ने अवस्था रहेको थियो । खुरहुरियादेखि छपकी टोल जोड्ने उक्त सडकमा जनश्रमदान गर्न त्यहाँका ५० जना युवाहरु लागेका छन् । स्थानीय सञ्चारकर्मी विनयकुमार लाल कर्णको विशेष पहलमा उक्त सडक बनाउन युवाहरु कोदालो लिएर सडक बनाउन उत्साहित भएका छन् ।
आफ्नो गाउँठाउँको विकासकालागि आफै जुट्नुपर्छ भन्ने भावनाकासाथ आफूहरु जनश्रमदान गर्न जुटेको स्थानीय रामरतन यादवले जानकारी दिएका छन् । आफूहरुले दातृ निकायले बाटो बनाई देला भन्ने आश गरेकोमा कतैबाट केही पहल नभएपछि जनश्रमदान गर्न जुटेको उनले बताए ।
सडक निर्माणकालागि स्थानिय रामरतन यादव, भगवती प्रसाद साह, प्रमेश्वर राम र धर्मदेव मण्डललगायतले नेतृत्व गरिरहेका छन् । उक्त सडकमा बाँकी रहेको कार्य सम्पन्न गर्न जनश्रमदान गर्ने कार्यलाई अझैं निरन्तरता दिइने पत्रकार विनयकुमार कर्णले जानकारी दिएका छन् ।