राजविराज, १७ असोज । सप्तरीका गाउँगाउँमा यतिबेला दशैंको चहल–पहल शुरु भएको छ तर राजविराज–६ का वयोवृद्ध रामशंकरलाल देवको परिवारजन यो बेला पनि शोक विह्वल नै छन् ।
बुढेसकालको सहारा जेठो छोरा जितेन्द्रनारायण देव २०७२ को दशैंको सप्तमीका दिन मृत फेला परेपछि दुई ओटै दशैं उनीहरुकालागि खल्लो बनेको हो । षष्ठीका दिन असोज ३० गते शनिवार साँझ ४ बजेको समयमा साइकल चढेर घरबाट हिँडेका उनी भोलीपल्ट बरहीबिरपुर स्थित नहरमा मृत फेला परेका थिए । शवलाई पोष्टमार्टम गर्दा हत्या भएको पुष्टि भए पनि अहिलेसम्म हत्यारा पत्ता नलाग्दा आफूहरु न्याय नपाएको र निराश भएर बस्नुपरेको मृतकका भाइ चन्द्रनारायण देवले बताए ।
२०७२ साल ज्येष्ठमा जितेन्द्रको विवाह झापाको शिवगञ्जकी विष्णुमाया देवसँग विवाह भएको थियो । विवाहको चार महिनामै दाजुको हत्या भएपनि अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले तदारुकता नदेखाएको चन्द्रनारायणको गुनासो छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धानमा आलटाल गर्दा आफूले न्याय पाउनकालागि तत्कालिन गृहमन्त्री शक्ति बहादुर बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण ठाकुरदेखि प्रहरी प्रधान कार्यालयसम्मलाई जानकारी गराउँदा पनि अहिलेसम्म कुनै प्रगति नभएको उनको भनाई छ ।
‘घरमा बृद्ध बुवा–आमा, भाउजु, बहिनी सबैले हत्यारा पत्ता लाग्यो कि लागेन ? भन्दै प्रश्न गर्नुहुन्छ’ उनले भने ‘एक वर्षदेखि म यसकालागि दौडधुप गर्दैछु तर कुनै प्रगति हुन सकेको छैन ।’ दाजुको कसले हत्या गरेको हो, के कारणले हत्या भएको हो ? भन्ने कुरा बुझ्न पाए र हत्यारामाथि कार्वाही भईदिए आफूहरुलाई थोरै भए पनि चित्त बुझाउने बाटो मिल्ने थियो–उनले भने । मृतक जितेन्द्र राजविराजमै फार्मेसी विषय लिएर पढ्दै गरेको अवस्थामा उनको हत्या भएको हो ।
भाइ चन्द्रनारायण भने काठमाण्डौमा मास्टर इन पब्लिक एडमिनिष्ट्रेसनमा अध्ययनरत छन् । ‘पढाईसँगै घरमै सानो किराना पसल खोलेर दाजुले परिवारको खर्च चलाउँदै आउनुभएको थियो’ चन्द्रनारायणले भने ‘अहिले परिवारको खर्च चलाउन समेत समस्या छ भने न्याय नपाउँदा चित्त बुझाउने आधारसमेत छैन ।’ वृद्ध बुवा आमा र विधवा भाउजुलाई सम्झाउन र सान्त्वना दिनमै आफ्नो अधिकांश समय बित्ने गरेको उनले दुःखेसो सुनाए ।
प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जितेन्द्रका हत्यारालाई पत्ता लगाउन आफूहरु गम्भीरतापूर्वक लागेको दावी गरेका छन् । ‘हामीले घटनालाई अति गम्भीरताकासाथ लिएर अनुसन्धान जारी राखेका छौं’ उनले भने ‘अहिलेसम्म निष्कर्षमा चाहिँ पुग्न सकिएको छैन ।’