विराटनगर, १५ असोज । पूर्वाञ्चल क्षेत्रको विभिन्न स्थानमा शुक्रबार अपरान्ह भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मोरङको बयरबन–९ पूर्व–पश्चिम राजमार्गमा शुक्रबार साँझ पौने ५ बजेतिर को१ख ३२६६ नम्बरको मिनि ट्रकसँग ठोक्किदा को२७प २७९९ नम्बरको मोटरसाइकलका चालक खोटाङ चिउरीडाँडा–३ बस्ने २४ वर्षिय लोकराज पाण्डेको उपचारकालागि अस्पतालतर्फ लैजानेक्रममा मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । मोरङकै पथरीशनिश्चरे–८ मोरङगी पुलमा शुक्रबार साँझ ६ बजे पश्चिमतर्फ जादै गरेको को१ख १८६४ नम्बरको यात्रुवाहक बसको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री बर्ष ३५ को अन्जन तिम्सिनाको उपचारकाक्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते तिम्सिनाको साँझ ८ः३० बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङ कटहरी–९ नँया बजार चौकमा को१त १३९२ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा साईकलमा सवार सोही ठाउँकी १५ वर्षिया उर्मीला मण्डल घाइते भएकी छिन् । मण्डललाई शुक्रबार अपरान्ह २ बजेतिर विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको ट्रयाक्टरले ठक्कर दिएको थियो । गम्भीर घाइते मण्डलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्रयाक्टर व.प्र.का. (ख) विराटनगरमा राखिएको छ । यता झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा मोटरसाइकले ठक्कर दिएर सोही ठाउँ बस्ने अर्जुन श्रेष्ठको ६ वर्षका छोरा अनमोल श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठलाई अपरान्ह ४ बजेतिर सडकमा खेल्दै गर्दा मे५प ४८३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
घाइते श्रेष्ठलाई बिएनसि अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक झापा जलथल–१ का २१ वर्षिय आईतराज राई प्रहरीको नियन्त्रणमा छन् ।