• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘तथ्याङ्क सङ्कलनदेखि राहत वितरणसम्म त्रुटीपूर्ण’

‘तथ्याङ्क सङ्कलनदेखि राहत वितरणसम्म त्रुटीपूर्ण’

राजविराज, १४ असोज । सप्तरी जिल्लामा बाढी पीडिहतहरुको तथ्याङ्क सङ्कलनदेखि राहत वितरणलगायतको कार्य व्यापक त्रुटीपूर्ण रहेको भन्दै व्यवस्थित हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
एक्सन एडको सहयोगमा सेड नेपालद्वारा शुक्रवार राजविराजमा आयोजित बाढी पीडितहरुको राहत पुनस्र्थापनलाई प्रभावकारी बनाउने विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमको निष्कर्ष तथा सुझाव कार्यक्रमका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् । हतार–हतारमा गरिएको तथ्याङ्क सङ्कलन त्रुटीपूर्ण भएको तथा जिल्लाले राहत वितरणकालागि एकद्वार प्रणाली लागु गरेपनि कार्यान्वयन नभएको, राहतको नाममा वितरण गरिएको औषधी म्याद गुज्रेको पाईएको, गाविस सचिव जिम्मेवार नदेखिएको, बाढी पश्चात वितरण गरिएको सरसफाई सामग्री गुणस्तरहिन रहेको सहभागीहरुले गुनासो गर्दै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
बाढी पीडितहरुको राहत तथा पुनस्र्थापन कार्यलाई प्रभावकारी बनाउन बाढी प्रभावित तिलाठी, रम्पुरामल्हनिया, को.वर्साइन र सकरपुरा गाविसमा अन्तरक्रिया पश्चात सार्वजनिक गर्न यो कार्यक्रमको आयोजना गरिएको सेड नेपालका अध्यक्ष शुभचन्द्र झाले जानकारी दिएका छन् । जिल्लाको दक्षिणी भेगका चार गाविसमा आयोजित अन्तरक्रिया कार्यक्रममा बाढीको समस्या, समाधानको उपाय, बाढी पश्चात स्थानीय प्रशासन तथा गाविसको सक्रियता, उनीहरुको कार्यको मूल्यांकन, विभिन्न संस्थाहरुले गरेको कार्यको समिक्षालगायत बाढी पीडितहरुको राहत तथा पुनस्र्थापन कार्यलाई प्रभावकारी बनाउने विषयमा पीडित तथा सरोकारवालाहरुसँग छलफल गर्नुका साथै सुझावहरु संकलन गरिएको अध्यक्ष झाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जिल्लाको तिलाठी गाविसमा विगत १८ दिनदेखि तालाबन्दी रहेका कारण सर्वसाधारण जनताको कामकाज प्रभावित रहेकोले आवश्यक छलफल गरी ताल्चा खोलाउन आफूले ठोस कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निमित स्थानीय विकास अधिकारी धीरेन्द्र प्रसाद यादवले गाविसको कामकाज प्रभावित गरेर समस्याको निकास नहुने भन्दै अविलम्ब ताल्चा खुल्नुपर्ने बताए ।
कार्यक्रममा डिआरआरका कार्यक्रम संयोजक राजेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, महासंघका उपाध्यक्ष श्रवण कुमार देव, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष श्यामसुन्दर यादव, पत्रकारहरु वैद्यनाथ यादव, हेमशंकर सिंह, रामनारायण विश्वास, जितेन्द्र कुमार झा, धर्मपाल राउत, विद्यार्थी मञ्चका केन्दीय अध्यक्ष किशोर कुमार यादव ‘केसी’, जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजनारायण ठाकुर, सिडिपीका जिल्ला संयोजक दिनेश अर्याल, महिला विकास कार्यालयकी मोनाश्री आचार्य, युवा नेता नवनीत झा, जिल्ला शिक्षा कार्यालयका सञ्जय कुमार कर्ण, सेड नेपालका निरज मुक्तिसमेतले सुझाव दिए ।