राजविराज, १३ असोज । सरकारले मधेशको माग सम्बोधन गर्न ढिलाई गरिरहेको भन्दै निर्णायक आन्दोलन गर्नुपर्नेमा मधेशी नेताहरुले जोड दिएका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीको क्षेत्र नम्वर–३ द्वारा विजया दशमी, दीपावली एवम् छठ पर्वको अवसरमा विहीवार आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तमलोपाका केन्द्रीय सह–महामन्त्री जयप्रकाश ठाकुरले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ढिलाई गरिरहेकोले मधेशी जनतामा आक्रोश बढ्दैगएको बताए । ‘वर्तमान सरकार पनि गम्भीर देखिएको छैन, मधेशको माग तत्काल सम्बोधन नगरे मोर्चाले निर्णायक आन्दोलनकालागि ठोस कदम चाल्नु आवश्यक छ’ उनले भने ‘आन्दोलनको समयावधी लम्ब्याएर मधेश आन्दोलनलाई कमजोर पार्ने षडयन्त्र भईरहेको छ ।’
पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रा. अमरकान्त झाले मधेशवादी शक्तिहरु एकजुट भई सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरीले आन्दोलन लम्बिदै गएका कारण समयसिमासहितको स्पष्ट माग सरकारसमक्ष राख्नुपर्ने बताए । तमलोपाका केन्द्रीय सदस्य विजय यादवले सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामगमन साहले मधेश आन्दोलनका क्रममा व्यापक कालोबजारी र तस्करी भएको भन्दै आगामी दिनमा यस्ता कमजोरीहरुलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य साधना झा, पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डल, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलगायतले मन्तव्य व्यक्त गरे । पार्टीका क्षेत्रीय अध्यक्ष महेन्द्र खङ्गको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव बौवालाल शर्माले गरे ।