• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पानीमा डुबेर तीन जनाको मृत्यु

राजविराज, ११ असोज । पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा सोमबार पानीमा डुबेर तीन जनाको ज्यान गएको छ ।
सप्तरी को. मधेपुरा–४ स्थित पोखरीमा डुबेर सोमबार अपरान्ह सोही स्थान बस्ने सियाराम मण्डलको ८ वर्षिया छोरी सोनम मण्डलको मृत्यु भएको छ । अपरान्ह ४ बजेतिर घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा अचानक पोखरीमा खस्दा डुबेर मण्डलको मृत्यु भएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली घटनास्थल मुचुल्का सम्पन्न गरी शव पोष्टमार्टमकालागी गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा पठाइएको छ ।
यसैगरी मोरङको भौडाहास्थित सुकानी खोलाले बगाउँदा भौडाहा–१ बस्ने अन्दाजी ५० वर्षिय मोतरी मुरयारीको मृत्यु भएको छ । मुरयारीलाई सोमबार बिहान १० बजेतिर खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।
उनको शव वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गर्ने क्रममा सोमबार दिउँसो बगाएको स्थानबाट दुई मिटर पर भेटाएका थिए ।
त्यसैगरी उदयपुरको हडिया–५ गौशालामा वर्षाको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रामप्रसाद चौधरीको ९ वर्षिय छोरा सुबोध चौधरीको मृत्यु भएको छ । सोमबार साँझ बाख्रा चराएर फर्कने क्रममा चौधरी घर नजिकै रहेको खाल्डोमा खसेका थिए । उनलाई स्थानीयले खाल्डोमा देखेपछि उद्धार गरी उपचारकालागि स्थानीय क्लिनिक तर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
घटनास्थलमा प्रहरी चौकी हडियाबाट खटिएको प्रहरी टोली घटनास्थलमा मुचुल्का कार्य पुरा गरी शब आफन्तलाई बुझाएको छ ।