वीरगञ्ज, १० असोज । नारायणी यातायात बस व्यवसायी संघ पर्सामा विवाद एवं कार्य समितिमा मन मुटाव बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले संघलाई गत असोज ७ गते विघटन गरेको छ ।
जिप्रका पर्साले वर्तमान कार्य समितिलाई विघटन गरी संघका संस्थापक अध्यक्ष वृजकिशोर कलवारको संयोजकतत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिले संस्थाको लेखा परिक्षण गर्ने, विधान बमोजिम साधारण सदस्यहरुको नविकरण गर्ने, दुई महिनाभित्र साधारण सभा सम्पन्न गरी नयाँ कार्य समिति गठन गरी हस्तान्तरण गर्ने र सो अवधि भर कार्यालयको दैनिक कार्य सम्पादन गर्ने लगायतको जिम्मेवारी तदर्थ समितिलाई दिएको जिल्ला प्रशासन कार्यालय पर्साको पत्रमा उल्लेख गरिएको छ ।
तीन सदसीय समितीमा संघका संस्थापक अध्यक्ष वृजकिशोर कलवार संयोजक र सदस्यहरुमा संघका पुर्व अध्यक्ष कृष्णराज उप्रेती तथा नेपाल वार एशोसिएसन पर्साका पुर्व अध्यक्ष शालिकराम प्रसाद कानु रहेका छन् । यसैगरी तदर्थ कार्य समितीलाई आवश्यक सहयोग र समन्वयका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार प्रभु प्रसाद कलवार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नारायणी अञ्चल समितिका सह–संयोजक बिनोद कुमार मानन्धरलाई जिम्मेवारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले संघको कार्य छिटो छरितो र पारदर्शिताकालागि बोधार्थमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बालकुमारी ललितपुर, नेपाल बार एशोसिएसन पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सालाई समेत पत्रचार एवं जानकारी गराएको छ । संघको ९ औं साधारण सभा भव्यताका साथ सम्पन्न गरी सम्पुर्ण व्यवसायिहरुको सरसल्लाह एवं सम्बिन्धित कार्यालयहरको समन्वयमा नयाँ कार्य समिति चयन गरिने यातायात क्षेत्रका अगुवा व्यवसायि एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नारायणी अञ्चल समितिका सह–संयोजक विनोद कुमार मानन्धरले बताए ।