• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शहिदको सूचीमा किन परेन शिवशंकरको नाम ?

श्यामसुन्दर यादव
राजविराज, ९ असोज । सप्तरी जिल्लाको जमुनी मधेपुरा गाउँ विकास समिति वडा नम्वर–३ पर्साहीका शिवशंकर दासको शहादत भएको लगभग दश महिना पुग्नैलागेको छ । मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुका परिवाजनले दश लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । तर सरकारले हालसम्म उनलाई शहिदसम्म घोषणा गरेको छैन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई बुझाएको शहिदहरुको सूचीमा शिवशंकरको नाम छ तर सरकारको सूचीमा भने उनको नाम समावेश गरिएको छैन । हालसम्म राज्यले शिवशंकरलाई शहिद घोषणा नगरेका कारण उनका परिवारजनलाई थप पीडा बोध भईरहेको छ ।
‘सङ्गै ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गरियो तर मेरा छोरालाई हालसम्म समावेश गरिएन’ शहिदका बुवा नारायणले भने ‘घरको अवस्था जर्जर छ, दैनिक गुजारा चलाउन समस्या भईरहेको छ, त्यसमाथि झन पीडा थपिएको छ ।’ शिवशंकरलाई शहिद घोषणा नगरिएको विषयमा राजनीतिक दलका नेताहरुका साथै स्थानीय प्रशासनमा समेत गुहार गर्दा पनि हालसम्म छोराको नाम शहिदको सूचीमा समावेशन नभएको उनले पीडा सुनाए । छोराले शहादतपछि हाल पान पसल पनि बन्द गरिसकेकोले परिवार चलाउन समस्या भएको उनले बताए ।shivshankar-das1
को हुन् शिवशंकर ?
सप्तरी जिल्लाको जमुनी मधेपुरा गाउँ विकास समिति वडा नम्वर–३ पर्साही निवासी नारायण लाल दास एवम् रिता देवी दासका दुई छोरामध्ये शिवशंकर कान्छो हुन् । उनको जन्म २०५४ सालमा भएको थियो । तेस्रो मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शिवशंकर दास उमेरको हिसाबले कान्छो शहीद हुन् ।

मंसिर ६ गते विहानको समयमा शिवशंकर साइकल चढेर जिल्ला प्रशासन कार्यालयको बाटो भएर राजविराज हटियातर्फ गइरहेका थिए । आन्दोलनकारीको आक्रोशबाट जोगिन प्रशासन कार्यालय सुरक्षार्थ काँडेतार लगाएर सडक समेत अवरुद्ध पारिएको थियो भने दुवैतर्फ हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दावी छ ।

अति विपन्न परिवारमा जन्मिएका उनले गाउँकै प्राथमिक विद्यालयबाट कक्षा ५ सम्मको शिक्षा प्राप्त गरी राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । घरको आर्थिक अवस्था जर्जर रहेका कारण शिवशंकरका बुवा नारायणले सदरमुकाम राजविराज स्थित बन कार्यालय अगाडि पान पसल थापेर गुजारा चलाउँदैआएका थिए । सामान्य पान पसलबाट प्राप्त थोरै आम्दानीले घर गर्जो टार्न समेत मुश्किल पर्ने गरेकोले शिवशंकरले चाहेर पनि उचित शिक्षादीक्षाको वातावरण पाउन सकेको थिएन ।sahid-shivshankar-das-3
कसरी भयो घटना ?
एसएलसी दिएर शिवशंकर फुर्सदको समयको सदुपयोग गर्न तथा दुई पैसा कमाई हुने आशकासाथ उनी साउण्ड सिस्टममा काम गर्दैआएका थिए । तर त्यहाँ पनि खासै कमाई नदेखेपछि बुवासँग सल्लाह गरेर विदेश जानकालागि पासपोर्ट बनाईसकेका थिए । उनी राम्रो एजेन्टमार्फत विदेश जाने तर्खरमा थिए । त्यतिबेला मधेश आन्दोलन उत्कर्षमा थियो ।
शान्त स्वाभावका मृदुभाषी युवा शिवशंकर आन्दोलनका कार्यक्रमहरुमा साउण्ड सिस्टम चलाउनकालागि सहभागी हुने गर्दथे । मंसिर ५ गते पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा सप्तरीको रुपनी र भारदहमा प्रहरीले साह्रै दमन गरेको रहेछ । राती करिब १०.३० बजेपछि प्रहरीले अन्धाधुन्द लाठी चार्ज गर्नुकासाथै दर्जनौ राउण्ड गोली फायर गरे । भागाभाग भयो । सोही क्रममा प्रहरीको गोली लागेर जमुनी मधेपुरा–९ का युवा नागेश्वर यादव र डाढाका वीरेन्द्र रामको तत्क्षण मृत्यु भयो । माहौल तात्दै गइरहेको थियो । मंसिर ६ गते विहानको समयमा शिवशंकर साइकल चढेर जिल्ला प्रशासन कार्यालयको बाटो भएर राजविराज हटियातर्फ गइरहेका थिए । आन्दोलनकारीको आक्रोशबाट जोगिन प्रशासन कार्यालय सुरक्षार्थ काँडेतार लगाएर सडक समेत अवरुद्ध पारिएको थियो भने दुवैतर्फ हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दावी छ ।
जिल्ला प्रशासन कार्यालयको बाटो भएर आउने क्रममा उनले काँडे तार पन्छाएर अगाडि बढ्ने प्रयास गरे । राजविराजको माहौल खराब रहेका कारण भागाभागको अवस्था थियो । काँडे तार पन्छाउन लाग्दा करेन्ट लागेर शिवशंकरको तत्कालै मृत्यु भयो । करेन्ट लागेर भुइँमा ढलेको देखेपछि आन्दोलनकारीहरुले बाँच्छन् कि भन्ने आशकासाथ राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगे । तर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले मृत घोषणा गरे । तत्पश्चात उनको शवलाई पोष्टमार्टम गृहमा लगियो ।sahid-shivshankar-das-11

यता शिवशंकरको विषयमा अबेरसम्म घर–परिवारलाई केही थाहा थिएन । आन्दोलनको विषयमा खबर बुझ्न उनका बुवा रेडियो सुनेर घरमै बसिरहेका थिए । त्यसैबेला आन्दोलनकारीहरुले नै फोन गरेर छोरालाई करेन्ट लागेको र गम्भीर अवस्थामा रहेको बताएपछि मात्र छोराको अवस्थाबारे आफूले थाहा पाएको शिवशंकरका बुवा नारायणले जानकारी दिए । हस्याङ्ग फस्याङ्ग गर्दै अस्पताल पुगेपछि छोरा शिवशंकर संसार छाडेर गईसकेका थिए । अति माया गर्ने छोराको मृत्युको खबरले आफूहरु आकाशबाट खसे झैं भएको शिवशंकरले स्मरण सुनाए ।
के भन्छन् मोर्चा ?
शिवशंकर दासको मृत्यु करेन्ट लागेर भएको तर जिल्ला प्रशासन कार्यालय अगाडि काँडेतारमा छोएर नभएको स्थानीय प्रशासनले दावी गर्दैआएका थिए । मोर्चाको दवाबमा दाससहित अन्य शहिदहरुको नाम गृहमन्त्रालयलगायत सरोकारवाला निकायमा पठाईएको थियो । मोर्चाले राजीव राउत, रामकृष्ण राउत, विरेन्द्र राम, नागेश्वर यादव, दिलिप साह र शिवशंकर दासको संयुक्त तस्विर भएको ब्यानर हालसम्म प्रयोग गर्दैआएको छ । यस अतिरिक्त पोर्ताहाका ५५ वर्षिय बालकृष्ण रायको नामसमेत केन्द्रीय मोर्चाले बुझाएको सूचीमा छ ।
आन्दोलनकै क्रममा काँडेतारमा शिवशंकरको करेन्ट लागेर मृत्यु भएको तथा मानव साङ्गलो बनाउने क्रममा सर्वसाधारण जनतालाई ओसारपसार गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेर पोर्ताहाका बालकृष्ण रायको मृत्यु भएको सङ्घीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहको भनाइ छ । तेस्रो मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई जसरी भए पनि राज्यपक्षले शहिदको सूचीमा राख्नुपर्ने उनको दावी छ । शिवशंकर र बालकृष्णलाई शहिद घोषणा गराउनकालागि आफूहरु प्रयासरत रहेको बताउँदै नेता साहले भने ‘आन्दोलनका क्रममा मारिएकाहरुलाई शहिद घोषणा नगरिए ठूलो अन्याय हुनेछ, यस विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गम्भीर छ ।’