राजविराज, ८ असोज । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले सङ्घीय लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सहमती कार्यान्वयन नभए आन्दोलनलाई लडाईको रुपमा अगाडि बढाउने चेतावनी दिएका छन् ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल सप्तरीद्वारा शनिवार आयोजित दोश्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । मोर्चासँग भएको संविधान संसोधनसहित तीन वुँदे सम्झौता कार्यान्वयनको विषयमा आफूहरु सशंकित रहेको बताउँदै प्रमुख अतिथि राईले भने ‘मोर्चासँग भएको सहमती कार्यान्वयन भएन भने आन्दोलनलाई लडाईको रुपमा सशक्त रुपमा अगाडि बढाउनेछौं ।’
राज्यपक्षले विगतमा आफूहरुसँग गरेका सम्झौताहरु कार्यान्वयन नगरेको प्रसङ्ग कोट्याउँदै पछिल्लो समय भएको सम्झौता पनि वर्तमान सरकारले कार्यान्वयन गर्ने विषयमा आफूहरुलाई पूर्ण भरोसा नरहेको वरिष्ठ नेता राईले बताए । ‘जबसम्म आदिवासी, जनजाति, दलित, मुस्लिमसहित उत्पिडित जनताप्रति जिम्मेवार हुँदैन तबसम्म देशमा स्थायी शान्ति तथा विकासको परिकल्पना गर्न सकिंदैन’ उनले भने ‘अब पनि धेरै ढिलाई भए हाम्रो धैर्यताको बाँट टुट्नेछ र यसको दुष्परिणाम राज्यपक्षले व्यहोर्नुपर्नेछ ।
उद्घाटन् समारोहमा मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालकिशोर यादवले स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीकाहरुको समस्याबारे प्रष्ट पारे । कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अनिरुद्ध प्रसाद सिंह यादव, जिल्ला अध्यक्ष दिनेशकुमार यादव, अखिल नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष विरेन्द्र दास, नेपाल निजामति स्वास्थ्यकर्मी मञ्चका जिल्ला अध्यक्ष अजय झा, गोल्डेन अस्पताल विराटनगरका प्रतिनिधि सनातन मण्डल, मधेशी स्वास्थ्यकर्मी फोरम झापाका अध्यक्ष रामकुमार यादव लगायतले मन्तव्य व्यक्त गरे । स्वास्थ्यकर्मी फोरमका जिल्ला अधिवेशन तयारी समितिका संयोजक शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा उद्घाटन समारोहको आयोजना गरिएको थियो ।