राजविराज, ८ असोज । सप्तरी युवा मूल समारोह समितिद्वारा प्रारम्भ गरिएको ५० हप्ते सरसफाई अभियानको चौथो हप्ता अन्तर्गत राजविराजको मुख्य बजारमा सरसफाई गरिएको छ ।
गजेन्द्र चोकदेखि हनुमाननगर मोडसम्म सरसफाई गरिएको जनाईइको छ । युवाहरुले व्यक्तिको घर अगाडि तथा पसल र होटल अगाडि थुप्रिएको सम्पूर्ण फोहोर सफा गरेका छन् । सरसफाई गर्ने क्रममा होटल व्यवसायीहरुले आफ्नै होटल फोहोर थुपार्ने गरेको पाईएको छ ।
सरसफाई गर्दै जाँदा गजेन्द्र चोकदेखि दक्षिणतर्फ रहेका होटल व्यवसायीहरुले युवाहरुसँग झडप गर्ने प्रयास समेत गरेका थिए । दैनिक रुपमा मुख्य सडकमै फोहोर फ्याँक्ने यी होटल व्यवसायीहरुलाई सरसफाई गर्न आग्रह गर्दा उनीहरु युवाप्रति जाइ लागेका थिए । पछि युवाहरुले आगामी दिनमा सफा गरिएको ठाउँमा फोहोर पाइएपछि फोहोर होटलभित्रै राखिदिने चेतावनी दिएपछि होटलवालाहरु पछि हटेका थिए । चौथो हप्तामा गरिएको सरसफाईमा निजामति कर्मचारीहरुलेसमेत सघाएका छन् ।