राजविराज, ७ असोज । सप्तरीको विभिन्न स्थानबाट प्रहरी र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले शुक्रबार दिउँसो विद्युत चोरी गर्ने ९ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा लालापट्टी–८ का हरेबी मन्सुरी, छिन्नमस्ता–२ का रामनारायण पण्डित, छिन्नमस्ता–१ का रामवृक्ष पंण्डित, ईटहरी बिसनुपुर–४ का ठेकाई यादव, ईटहरी बिसनुपुर–१ का नन्द किशोर यादव, ईटहरी बिसनुपुर–१ का रविन कुमार मण्डल, छिन्नस्ता–१ का सुर्यनारायण मण्डल, ईटहरी बिसनुपुर–२ का जितेन्द्र कुमार मण्डल र छिन्नमस्ता–२ का बब्लु ठाकुर छन् ।
उनीहरुलाई नेपाल विद्युत प्राधिकरणका कर्मचारी र जिल्ला प्रहरी कार्याल सप्तरीबाट खटिएको अनुगमन टोलीले हुकिङ्ग गरी घरमा विजुली लगेको अवस्थामा नियन्त्रणमा लिईएको हो । पक्राउ परेका उपर नेपाल विद्युत प्राधिकरण राजविराजबाट विद्युत ऐन अन्तर्गत कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी तिलाठीबाट खटिएको टोलीले तिलाठी–९ बाट बिहिबार राती व्यापारिक प्रयोजनकालागी भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी २३ हजार ३ सय ४० रुपैयाको कस्मेटिक सामान बरामद गरी शुक्रबार तिलाठी भन्सार कार्यालयमा बुझाएको छ ।