नवलपरासी, ६ असोज । इन्दिरा सुगर एण्ड ईण्डष्टिज प्रतापपुर–५ गंगापुर नवलपरासीले असोज ६ गतेदेखि डिष्टिलरी सञ्चालन गरेपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीले एक प्रेस विज्ञप्ती निकाली आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भदौ ७ गते प्रमुख जिल्ला अधिकारी महादेव पन्तको अग्रसरतामा त्रिपक्षिय बैठक मार्फत डिष्टिलरी सञ्चालन गर्न वातावरणीय प्रदुषण सर्त अनुसार १५ दिन भित्र उद्योग पक्षले वातारणीय रिपोर्ट उपलब्ध गराएपछि मात्र डिष्टिलरी सञ्चालन गर्न पाउने सहमति भएकोमा हालसम्म वातावरण प्रदुषण रिपोर्ट उपलब्ध नगराइकन सहमति विपरित डिष्टिलरी सञ्चालन गरिएकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवको हस्ताक्षर सहितको प्रेस विज्ञप्तीमा जनाइएको छ । साथै संचालनमा ल्याइएको डिष्टिलरी तत्काल बन्द गर्न माग गरिएको छ ।
नवलपरासीका किसानहरूले लगाएको हजारौं विगहा केरा खेती, धानबाली, तरकारीलगायतका खेती इन्दिरा सुगर एण्ड एग्रो मिलको प्रदुषण पानीबाट नष्ट भएका छन् । त्यसैगरी मिलबाट निस्केको प्रदुषण पानीका कारण वातावरण प्रदुषण भई विभिन्न सरुवा रोगहरु बढने खतरा देखिएको, लामखुट्टेको बिगबिगी यसको नियन्त्रण, किसानहरु बालीको क्षतिपूर्ति माग दिनुपर्छ भन्दै विगत डेढ महिनादेखि किसानहरु आन्दोलन गरिरहेका छन । पीडित किसानहरुले नारा जुलस सहित पटक–पटक जिल्ला प्रशासनलाई घेराउ समेत गरि सकेका छन् । सो मिलले नजिकको कंगली खोलामा आफ्नो प्रदुषित पानी ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको खेतीमा प्रत्यक्ष असर पार्दै आएको छ ।