बोधराज सुवेदी
महुली, ६ असोज । ईलाका प्रहरी कार्यालय महुलीमा बिहीबार आयोजित एक सर्वदलीय सर्वपक्षिय भेलाले अबदेखि छाडा पशु चौपायाको कारणले भएको सडक दुर्घटनाको क्षतिपूर्ति सम्बन्धित चौपाया धनीले ब्यहोर्नु पर्ने निर्णय गरेको छ ।
ईलाका प्रहरी कार्यालय महुलीका नयाँ ईञ्चार्ज प्रहरी नायव निरीक्षक रमेश वनले आयोजना गरेको शान्ति सुरक्षा लगायत समसामयिक विषयको अन्तरक्रियात्मक कार्यक्रममा उक्त निर्णय गरिएको हो । कार्यक्रममा सहभागिहरुले चाडपर्वको समयमा सडकमा सवारीको चाप वढ्ने हुँदा महुलीमा एउटा ट्राफिक बिट राख्नु पर्ने माग गरे ।
यसैगरी अवैध मादक पदार्थको उत्पादन एवं सेवन, चोरी डकैती तथा झंैझगडा, विद्युत चोरी, काठ तस्करी जस्ता विकृतिहरुको नियन्त्रणकोलागि प्रहरीले २४सै घण्टा विशेष सेवा प्रदान गर्नु पर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा बक्धुवा, जण्डोल, प्रसवनी र लोहोजरा गाविसका निवर्तमान अध्यक्ष र उपाध्यक्षहरु, स्थानिय राजनैतिक दल तथा नागरिक समाज एवं विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, पत्रकार लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।