राजविराज, ५ असोज । न्यूज टुडे दैनिक एवम् अनलाइनका सम्पादक श्यामसुन्दर यादवलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७३ बाट बिहीबार पुरस्कृत गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोउत्सव तथा पुरस्कार वितरण समारोहमा उनलाई पुरस्कृत गरिएको हो । उनलाई ताम्रपत्र र नगद १० हजार रुपैया समेतबाट पुरस्कृत गरिएको जनाइएको छ । पत्रकार यादवले विगत डेढ दशकदेखि मधेशमा रहेर छापा तथा रेडियोको माध्यमबाट पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत उनलाई प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार यादवले ग्रामिणमुखि पत्रकारिता प्रवद्र्धन गर्नुका साथै सामाजिक रुपान्तरण एवम् सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदै आएका छन् । २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्ते पत्रिकाबाट उनी पत्रकारिता प्रति आकर्षित भएका थिए । कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.बाट प्रकाशित सत्यापन साप्ताहिकको सम्वाददाताको रुपमा २०५७ सालमा पत्रकारिता पेशामा प्रवेश गरेका थिए । त्यसपछि उनले न्यूज टुडेको सम्वाददाता भएर लामो समयसम्म काम गरेपछि २०७२ सालदेखि न्यूज टुडे दैनिक र अनलाइनको सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सप्तरीको जमुनीमधेपुरा गाविस वडा नम्बर–९ निवासी यादव सञ्चारदृष्टि साप्ताहिकका सम्पादकका साथै राजविराजको सामुदायिक रेडियो छिन्नमस्ता एफएममा स्थापनाकालदेखि नै चर्चा परिचर्चा नामक बहस कार्यक्रम सञ्चालन गर्दै आएका छन् । मैथिली भाषा, साहित्यक, कला, संस्कृतिको क्षेत्रमा समेत सक्रिय रहनुकासाथै कलमको माध्यमले भाषा, साहित्य र संस्कृतिको उजागर गर्दै आएका छन् । २०६६ सालदेखि नेपाल टेलिभिजन सप्तरीको सम्वाददाता भएर टेलिभिजनमा समेत सशक्त भूमिका निर्वाह गर्दै आएका छन् ।
मैथिली साहित्य परिषद्का सचिव समेत रहेका पत्रकार यादव मधेशी पत्रकार संघ र संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष समेत हुन् । साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका उनले हाम्रो सप्तरी र छिन्नमस्ता भगवती दर्शन नामक पुस्तक प्रकाशित गरेका छन् । उनले मैथिली भाषाका विभिन्न चार ओटा म्यूजिक भिडिओमा गीत रचना गरेका छन् । उनको पथिक कविता संग्रह, तेस्रो मधेश आन्दोलन, पत्रमञ्जुषा सहितका पुस्तकहरु प्रकाशनको क्रममा रहेको छ । यसका साथै छिन्नमस्ता भगवती ऐतिहासिक बृत्तचित्र सहित आधा दर्जन बृत्तचित्रहरुको लेखन एवम् निर्देशन समेत गरिसकेका छन् । छपकी भथौलमा जन्मिएका पत्रकार यादव मामाघर खुरहुरियामा रहेर अध्ययनका साथै पत्रकारिता तथा साहित्यीक एवं सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
पत्रकार यादवले विश्व भाषाभाषी साहित्य पुरस्कार २०७१, मैथिली सम्मान २०७२, लोकेन्द्र स्मृति पत्रकारिता लगायतका पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् । प्रेस काउन्सिल नेपालद्वारा आयोजित सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडालाई प्रेस काउन्सिल लेखनवृत्ति पुरस्कारबाट पुरस्कृत गरिएको छ । उक्त कार्यक्रममा विभिन्न विधाका पुरस्कारहरु समेत प्रदान गरिएको छ । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट लगायतले मन्तव्य व्यक्त गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्ण बहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार आचार संहिता जारी भएको घोषणा गरी राष्ट्रपति भण्डारीलाई आचार संहिताकोप्रति समेत अर्पण गरिएको थियो ।
प्रेस काउन्सिल सदस्य पत्रकार किशोर श्रेष्ठद्वारा संचालित कार्यक्रममा नेपालका विभिन्न सञ्चार माध्यममा कार्यरत वरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियो ।