• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
झाडापखाला नियन्त्रणमा गम्भिरता अपनाऔं

सप्तरीको कोइलाडीमा अहिले झाडापखालाको प्रकोप फैलिएको छ । जमुनीमधेपुरामा फैलेको झाडापखाला नियन्त्रण भएलगत्तै कोइलाडीमा यो फैलिएको हो । कोइलाडीमा यो प्रकोपले पीडितहरुको संख्या बढी छ । सँगसँगै केही व्यक्तिमा हैजाकै जीवाणु रहेको समेत स्वास्थ्यकर्मीको आशंका रहेको छ । यसकोबारे टुंगोमा पुगेर भरपर्दो उपचारको व्यवस्था मिलाइनु आवश्यक देखिन्छ । कोइलाडीमा फैलेको झाडापखालाको कारणमा दुषित पीउने पानी, सरसफाइको कमी नै प्रमुख कारण रहेको स्वास्थ्यकर्मीहरुले अनुगमन गरेका छन् ।
शुद्ध पीउने पानीका लागि यसको शुद्धिकरण बारेमा जानकारी दिनु आवश्यक देखिन्छ । वर्षाका कारणले पानी दुषित बन्ने सम्भावना प्रवल रहने र पानी शुद्धिकरण गरेर पीउने बारेमा उक्त वस्तीका जनतालाई जानकारी दिए मात्र यस प्रकारको प्रकोप भविष्यमा दोहोरिन नपाओस् भन्ने विषयमा प्रभावकारिता हुन सक्छ । पानी दुषित हुनुको कारणमा खुला दिसापिसाब पनि रहेकोले गाविसलाई नै खुला दिसामुक्त तुल्याउने लक्ष राखिएको भए पनि हालसम्म भएको प्रगतिलाई हेर्दा घोषित समयभित्रै सप्तरीले उक्त लक्ष प्राप्त गर्ला भनी ढुक्क हुने अवस्था छैन । यतिबेला प्रकोप फैलिएको ठाउँमा नियमित रुपले आवश्यक औषधी सहित स्वास्थ्यकर्मीहरु तैनाथीको आवश्यकता रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध भएका जनशक्ति अनुसार नै स्वास्थ्यकर्मीहरुको टोली त परिचालन गरेकै छ । तर, यदि प्रकोप नियन्त्रणमा तत्कालै आउन सकेन भने थप स्वास्थ्यकर्मीको आवश्यकतापनि पर्न सक्दछ । अवस्था गम्भिर भएका बिरामीलाई गाउँमै उपचार सम्भव भएन भने बाहिर लगेर उपचारको व्यवस्था मिलाइनु आवश्यक देखिन्छ । यसकालागि आवश्यक पर्ने श्रोत साधनको पनि तयारी हुनु जरुरी छ ।
वर्षा र बाढीको समयमा यस प्रकारका प्रकोपबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा जनचेतना जनाउनु आजको आवश्यकता हो । जमुनीमधेपुरामा फैलेको दुई साता नबित्दै कोइलाडीमा यसप्रकारको प्रकोप देखा परेपछि आगामी दिनमा यस्तै प्रकोप अन्यत्र पनि फैलन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैले यस्ता प्रकोपबाट सुरक्षित रहने उपायका बारेमा ग्रामीण भेगका जनताका बीच जनचेतना मूलक कार्यक्रम लिएर जाने काम गरिनु पर्दछ । साथै कोइलाडीका दुई व्यक्तिमा फेला परेको शंकास्पद हैजाका जीवाणुको जाँच गरेर वास्तविकतामा पुग्नु समेत आवश्यक छ ।