सिरहा, ६ असोज । सिरहाको धनगढीमाई–१ मा बुधबार अज्ञात सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ३० वर्ष जस्तो देखिने मृतक पुरुषको नामथर वतन खुल्न सकेको छैन ।
राती १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारकोलागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने ठक्कर दिने सवारी साधनको पहिचान तथा खोजी कार्य तिब्र रुपमा भइरहेको छ । यस्तै झापाको भद्रपुर–१४ स्थित धनुषमोडमा मे१ख ६९३ नम्बरको नेशनल मेरीगोल्ड बोर्डिङ्ग स्कूलको बसले मे१ह २०२१ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा दुई प्रहरी जवान घाइते भएका छन् । बसको ठक्करबाट सिटी सफारीमा सबार रहेका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सुष्मा तामाङ्ग र अञ्चल सशस्त्र प्रहरी गुल्म मेचीमा कार्यरत अञ्जु राजबंशी घाइते भएका छन् ।
बुधबार साँझ ६ बजेतिर डिउटी सकेर फर्कने क्रममा उनीहरु सवार सिटी सफारीलाई बसले ठक्कर दिएको थियो । घाइते तामाङ्गको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अञ्जुको ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।