राजविराज, ५ असोज । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट सप्तरीका पत्रकार बैद्यनाथ यादव सम्मानित हुने भएको छ । नेपाल टेलिभिजनले स्थापना गरेको सो पुरस्कारको राशि ५१ हजार नगद र कदर पत्र रहेको जनाइएको छ ।
उक्त पुरस्कारबाट सम्मानित हुने यादव सप्तरीको पहिलो पत्रकार हो । उनी एभी न्यूज टेलिभिजनका जिल्ला सम्वाददाता र सप्तरी जागरणका सम्पादक पनि हुन् । गत साउन महिनामा आएको बाढिले सप्तरीको विकट गाउँको रुपमा परिचित गोबरगाढालाई चारैतिरबाट कोशीको भंगालोले छोपेको अवस्थामा सो बारे जोखिमपूर्ण यात्रा गरी रिपोर्टिङ्ग गरेवापत पत्रकार यादवलाई सम्मान गर्ने निर्णय गरिएको नेपाल टेलिभिजन पत्रकार महासंघ प्रतिष्ठानका सचिव टेकबहादुर खड्का जनाइएको छ ।
विगत १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार यादवलाई सो पुरस्कार असोज ७ गते काठमाण्डौंमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गर्ने कार्यक्रम रहेको छ । पुरस्कार वितरण कार्यक्रमको शुक्रबार नेपाल टेलिभिजनले दिउँसो २ बजेदेखि प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम रहेको छ ।
सप्तरीको को. मधेपुरा–८ निवासी यादव २०५५ सालदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार यादवले स्थानीय श्री जनआक्रोस दैनिक, सप्तरी सन्देश साप्ताहिक, कृष्णा साप्ताहिक हुँदै धरानबाट प्रकाशित हुने धरान टुडे, जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडे पत्रिकाहरुमा सप्तरीबाट सम्वाददाताको रुपमा काम गरिसकेका छन् ।
यसैगरी पत्रकार यादव काठमाडौंको तरुण साप्ताहिक, नयाँ सडक दैनिक, गोरखापत्र देनिक पत्रिकामा समेत सप्तरी समाचारदाताका रुपमा काम गरिसकेका छन् । विगत १० वर्षदेखि पत्रकार यादव टेलिभिजन पत्रकारितामा क्रियाशिल रहँदै आएका छन् । पछिल्लो समय उनी उज्यालो नेशनल नेटवर्कको सम्वाददाताका रुपमा कार्यरत रहेका छन् भने सप्तरी जागरण साप्ताहिकका प्रकाशक, सम्पादक र सप्तरी जागरण अनलाईनका कार्यकारी प्रमुख समेत रहेका छन् ।