राजविराज, ५ असोज । न्यूज टुडे दैनिक एवम् अनलाइनका सम्पादक श्यामसुन्दर यादव युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७३ बाट पुरस्कृत हुने भएका छन् ।
सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १६ वर्षदेखि पत्रकारिता गर्दै आएका यादवलाई प्रेस काउन्सिल नेपालले यसको पुरस्कार प्रदानगर्ने भएका हुन् । प्रेस काउन्सिल नेपालको उक्त पुरस्कार विहीवार राष्ट्रपति कार्यालय शीतलनिवासमा गणतन्त्र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदानगर्ने प्रेस काउन्सिल नेपालका अधिकृत जगदीश पौडेलले जानकारी दिएका छन् ।
पत्रकार यादवले ग्रामिण मुखि पत्रकारिता प्रवद्र्धन गर्नुका साथै सामाजिक रुपान्तरण एवम् सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदै आएकोले युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको जनाईएको छ । २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्तेपत्रिकाबाट उनी पत्रकारिताप्रति आकर्षित भएका थिए । कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.बाट प्रकाशित सत्यापन साप्ताहिकको सम्वाददाताको रुपमा २०५७ सालमा पत्रकारिता पेशामा प्रवेश गरेका थिए । त्यसपछि उनले न्यूज टुडेको सम्वाददाता भएर लामो समयसम्म काम गरेपछि २०७२ सालदेखि न्यूज टुडे दैनिक र अनलाइनको सम्पादको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सप्तरीको जमुनीमधेपुरा गाविस वडा नम्बर–९ निवासी यादव सञ्चारदृष्टि साप्ताहिकका सम्पादकका साथै राजविराजको सामुदायिक रेडियो छिन्नमस्ता एफएममा स्थापनाकालदेखि नै चर्चा परिचर्चा नामक बहस कार्यक्रम सञ्चालन गर्दै आएका छन् । मैथिली भाषा, साहित्यक, कला, संस्कृतिको क्षेत्रमा समेत सक्रिय रहनुकासाथै कलमको माध्यमले उजागर गर्दै आएका छन् ।
मैथिली साहित्य परिषद्का सचिव समेत रहेका पत्रकार यादव मधेशी पत्रकार संघ र संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष समेत हुन् । साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका उनले हाम्रो सप्तरी र छिन्नमस्ता भगवती दर्शन नामक पुस्तक प्रकाशित छन् । उनले मैथिली भाषाका विभिन्न चार ओटा म्यूजिक भिडिओमा गीत रचना गरेका छन् । पथिक कविता संग्रह, तेस्रो मधेश आन्दोलन, पत्र मंजुषा सहितका पुस्तकहरु प्रकाशनको क्रममा रहेको छ । यसका साथै छिन्नमस्ता भगवती ऐतिहासिक बृत्तचित्र सहित आधा दर्जन बृत्तचित्रहरुको लेखन एवम् निर्देशन समेत गरिसकेका छन् ।
पत्रकार यादवले विश्व भाषाभाषी साहित्य पुरस्कार २०७१, मैथिली सम्मान २०७२, लोकेन्द्र स्मृति पत्रकारिता लगायतका पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।