राजविराज, ४ असोज । भोर एवम् शक्तिहिनको सशक्तिकरण–मुसहर समुदायको समग्र उत्थान अभियानको सहजिकरणमा हालसम्म ६१ जना मुसहर समुदायका विद्यार्थी उच्च शिक्षा हासिल गर्न कलेजमा भर्ना भएका छन् ।
हालसम्म कक्षा ११ मा ५५ जना, कक्षा १२ मा ४ जना, कक्षा १२ को अन्तिम परीक्षा पुरा गरिसकेको एक जना र एक जना स्नातक अध्ययनरत रहेको भोरका अध्यक्ष राज कुमार महतोले जानकारी दिएका छन् । पर्सा, बारा, रौतहट, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सुनसरी, मोरङ्ग र नवलपरासीमा विद्यार्थीहरु अध्ययनरत रहेको उनले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई अध्ययन गर्न प्रति व्यक्ति प्रतिवर्ष सरदर पैंतिस हजार खर्च भईरहेको रहेको छ । यो रकम अध्ययन गर्ने विषय अनुसार फरक फरक हुने तथा कलेजमा तिर्नुपर्ने सम्पुर्ण फी तथा किताब स्टेशनरी र स्कुल बैग किन्न चाहिने रकम व्यहोर्ने गरेको छ । शिक्षाको उज्यालोबाट पुस्तौंदेखि बञ्चित मुसहर समुदायलाई अगामी ५ वर्षभित्र पूर्णरुपेन शिक्षित पार्न र सम्पूर्ण बालबालिकाहरु र युवाहरुलाई विद्यालय र कलेजमा अध्य्यन गराउन सहयोग गर्न भोरले ५१ हजार रुपैयाँ आफनो तर्फबाट योगदान गरी दीनाभद्री छात्रवृती कोषको स्थापना गत अषाढ १८ गते गरेको थियो । उक्त दीनाभद्री छात्रवृती कोषको शुभारम्भ गर्दै पुर्व राष्ट्रपति डा. रामवरण यादवले कोषमा सम्पुर्ण देशवासीलाई योगदान गरी पुस्तौदेखि पछाडि परेको समुदायको उत्थानमा योगदान गर्न अनुरोध गरेका थिए । शिक्षाविद् भोगेन्द्र झाले पनि भोरले शुरु गरेको दीनाभद्री छात्रवृती कोष जस्तो पावन र परोपकारी प्रयासमा सम्पूर्ण जन समुदाय र सरोकारवालाहरुलाई सहभागी हुन अनुरोध गरेका छन् ।
विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनकोलागि उचित आवश्यक सहयोगको व्यवस्था यस दीनाभद्री छात्रवृति कोषबाट गरिएको छ । कोषमा देश विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुले आफनो कमाईबाट सहयोग गरिरहेको अध्यक्ष महतोले जानकारी दिएका छन् । भोरको कोषाध्यक्ष समेत रहेका शक्तिहिनको सशक्तिकरण–मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझी मुसहरले जिल्ला तथा समुदायस्तरमा समन्वय, सहजीकरण, छलफल तथा भेटघाटमार्फत मुसहर विधार्थीहरुलाई कलेजमा भर्ना गराउन उल्लेखनिय योगदान गरिरहेको उनले बताए ।
भोरको सहजीकरण मार्फत र दीनाभद्री छात्रवृती कोषबाट उच्च शिक्षा अध्य्यनकोलागि सहयोग पाउने प्रत्येक विधार्थीले आफनो गांउ टोलका मुसहर बालबालिकाहरुलाई स्वंयसेवाको रुपमा हरेक दिन १ घण्टा ट्यूशन पढाउने उत्प्रेरणा गर्ने र प्रतिबद्धता गराउने पहल समेत पचुलाल माझीले गरिरहेका छन् । अभियानमा नेपाल राष्ट्रिय मुसहर संघसमेत काँध थापेर सहकार्य गरी अगाडि बढीरहेका छन् । पुस्तौंदेखि चरम गरिबी, अभाव, अन्यायमा बांचीरहेका ६ लाख भन्दा बढी जनसंख्या रहेको सबैभन्दा गरिब समुदायको उज्यालो भविष्यको आशा जगाएको कुरा नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए ।
हालसम्म दुई लाख त्रीपन्न हजार चार सय अडसठ्ठी रुपैयाँ संकलन भएकोमा ६१ जना विधाथीहरुलाई कक्षा ११ र १२ अध्य्यनकोलागि आवश्यक रकम अक्षरमा चालिस लाख साठी हजार रहेको उनले जानकारी दिएका छन् । हालसम्म दीनाभद्री छात्रवृति कोषमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरुमा कोमल शर्मा, सुदिप आले मगर, बरुण कुमार सिंह, सागर माझी, जीवन मल्ल, निलम भण्डारी, प्रकाश भट्ट, बैजुनाथ रौनियार, केशव भोज स्मृती, हरिलाल ढकाल, मोहन नेपाल, सिमा बराल, एम आर महर्जन, क्याप्टन विष्णु प्रसाद श्रेष्ठ, अनिल सिग्देल, संतोष कुमार माझी, खुश्बु अग्रवाल, डा. सुधिर खनाल, जीवन बुढाथोकी, श्रीराम पुर्वे, सलिता सदा रहेको अध्यक्ष महतोले जानकारी दिएका छन् । क्याम्पसहरुमा मिट क्याम्पस, जनकपुरधाम, पब्लिक यूथ क्याम्पस, जनकपुरधाम, फ्लोरिडा एभरेष्ट कलेज, काठमाडौं, एलएमसी कलेज, लहान, रोयल सफटेक कलेज, लहान, अपोलो ओम हायर सेकेन्ड्री लगायतका कलेजहरुलेसमेत सहयोग गरेको उनले जनाएका छन् ।
कुल ६१ जना मुसहर विद्यार्थीहरुलाई प्लस टु अध्ययन पुरा गर्नमा सहयोग गर्न अझ ३८ लाख ६ हजार पाँच सय बत्तिस रुपैयाँ खाँचो रहेको छ । मुसहर विधाथीहरुलाई उच्च शिक्षाको अध्य्यन गर्नकोलागि आवश्यक न्यूनतम रकम जुटाउन सहयोग गर्नु हुन देश विदेशमा रहेका सम्पुर्ण जन समुदाय तथा सरोकारवालाहरुमा अध्यक्ष महतोले आग्रह गरेका छन् ।