राजविराजका सरकारी कार्यालयमा अत्यावश्यक काम लिएर आउने सेवाग्राहीले सौचका लागि समस्या भोग्दै आएका छन् । सरकारी कार्यालयहरु मध्ये धेरैजसोमा सेवाग्राहीको प्रयोगकालागि सौचालय नभएका कारणले उनीहरुलाई यस्तो समस्या आएको हो । कार्यालयको सौचालय कर्मचारीहरुको प्रयोगको लागि मात्र उपयोग हुने गरेको तर दुरदराजका ग्रामीण भेगबाट आएकाहरुकालागि सौचालयमा पहुँच सहज नभएको अवस्था छ । सौचालयकालागि कुनै उपाय नलागेपछि गल्ली वा एकान्त स्थानतिर जानुको उनीहरुकालागि विकल्प छैन । यसले नगर क्षेत्र फोहर तथा दुर्गन्धित त बनेकै छ भने अर्कोतिर सेवाग्राहीले कष्ट भोग्नु परेको वास्तविकता पनि नरहेको होइन ।
काम लिएर कार्यालयमा आएका सेवाग्राहीले सरकारी दस्तुर बुझाउँछन््, जनताकै तिरोबाट खडा भएको कोषबाट सरकारी ढुकुटी निर्माण हुने गर्दछ । तर, तिनै सेवाग्राहीले सौचालयसम्म प्रयोग गर्न नपाई उपेक्षाको शिकार हुनुपर्दछ भने यसलाई विडम्बना नै भन्नु पर्दछ । सरकारी कार्यालयमा रहेका सौचालय मध्ये कतिपय अत्यधिक फोहर तथा प्रयोग गर्न लायक नरहेका पनि होइनन । तिनको मर्मत सम्भार र पानीको व्यवस्था भएका त्यसैलाई सेवाग्राहीको प्रयोगमा समेत लगाउन सकिन्छ । सरकारी कार्यालयमा सौचालय मात्र होइन त्यसलाई लैंगिक मैत्री बनाउने माग समेत उठ्ने गरेको छ, कतिपय सरकारी कार्यालयहरुमा यस प्रकारको व्यवस्था पनि छ । त्यसमाथि बालमैत्री, अपांग मैत्री सौचालय समेतको आवश्यकता र माग भइरहेको सन्दर्भमा एउटा पनि सौचालय सेवाग्राहीकालागि नहुनुले त उनीहरुलाई उपेक्षा गरेकै अर्थ लाग्दछ ।
राजविराज नगरपालिकालाई खुला दिसामुक्त बनाउने चुनौति छ । यस्तो अवस्थामा सरकारी कार्यालयमा समेत सेवाग्राहीकालागि सौचालय उपलब्ध नहुने हो भने यसले उक्त चुनौतिलाई जटिल नै बनाउने निश्चित छ । सौचालयको व्यवस्थासँगै पानीको प्रबन्ध नियमित भएमा त्यहाँ सरसफाईको समस्या पनि त्यति साह्रो नहुने भएकाले कार्यालय परिसरलाई दुर्गन्धित तुल्याउनुको साटो सौचालयको प्रबन्धतिर नै ध्यान पु¥याउनु बुद्धिमानी पनि हो । बाहिरबाट आएका सेवाग्राहीको यो समस्यालाई दृष्टिगत गरी सौचालयको प्रबन्ध मिलाउनेतर्फ ध्यान पु¥याउनु आवश्यक छ ।