चन्दन रौनियार
सुनसरी, ३ असोज । सुनसरीको दुहवीमा थरुहट थारुवान संयुत संघर्ष समितिको अगुवाइमा संविधान दिवसलाई सोमवार कालो दिनको रुपमा मनाएको छ ।
दुहवीमा सुनसरी, मोरङ र झापाका थारुको भेला गरी विरोध सभा गरिएको हो । थारुसहित आदिवासी जनजाति, मधेशी दलहरु बीचमा भएका विभिन्न सहमति र सम्झौताविपरीत गत वर्षको असोज ३ गते ल्याएको संविधानको विरोधमाा कार्यक्रम गरेको समितिका सचिव सुरेन्द्र चौधरीले बताए ।
कार्यक्रममा अधिवत्ता तथा थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष रामराज चौधरीले थारुसँग गरेको सहमतिको उल्लङ्घन गरेको र संविधान समेत सिमित व्यक्तिको मात्रै इच्छा अनुसार आएकाले विरोध गर्नु परेको बताए । उनले जारी भएको संविधान संसोधन गर्नुपर्ने र थारुको पहिचान , आरक्षण र संघीयतामा आफूहरुको तराई मधेसलाई थारुवान वा मधेस प्रदेश बनाउनुपर्ने माग गरे । उनले विगतका सम्झौता पूरा हुनुपर्ने, अधिकारको र पहिचान आफूहरुको प्रमुख माग रहेको समेत उल्लेख गरे ।
यसैगरी सोमबार दुहबी बजारमा संविधानं जारी भएको दिन असोज ३ लाई कालो दिन भन्दै थरुहट÷थारुवान सर्घष समिति सुनसरी, मोरङ र झापाको संयुक्त आयोजनामा विरोधसभा सम्पन्न गरेको थारु नेता मिलिराम चौधरीले बताए । मधेसी मोर्चाले पनि बिहानै देखि सरकारी कार्यालय तथा घरघरमा विरोध गर्दै कालोझण्डा गाडेका थिए । साँझ व्ल्याक आउट समेत गरिएको छ ।
सो सभालाई सम्बोधन गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरी, नेपाल आदिवासी जनजातिका उपाध्यक्ष तेजनारयाण चौधरी, थरुहट तराई पार्टीका महासचिव शम्भु चौधरी , झापाका पुष्पलाल चौधरी , मोरङका प्रदिप भगत चौधरी, दिपनारयाण चौधरी,थारु, आदिवासी नेताहरुले थरुहट स्वायत्त राज्य प्रणाली हुनुपर्ने नभए सशक्त आन्दोलन गर्ने र स्थानीय निकायको चुनाव बहिष्कार गर्ने समेत उद्घोष गरेका थिए ।
यता नेपालको संविधान जारी भएको दिनलाई सुनसरीका पत्रकारहरुले कालो दिवसका रुपमा मनाएका छन् । सङ्घीय प्रेस फोरम सुनसरीले जारी भएको संविधान विभेदकारी रहेको भन्दै पत्रकारहरुले मधेशको मागलाई सम्बोधन गरेर संविधानमा संशोधन गर्न माग गरेका संङ्घीय प्रेस फोरम सुनसरी अध्यक्ष चन्दन रौनियारले बताए कार्यक्रममा राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको व्यापक सहभागिता रहेको थियो ।