राजविराज, ३ असोज । स्वतन्त्र मधेसी मोर्चाले राजविराजमा प्रदर्शन गर्दै सोमवार राजविराजमा कालो दिवस मनाएका छन् ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरी शहिद दशन चौकमा पुगी विरोध सभामा परिणत भएको थियो । विरोधसभालाई सम्बोधन गर्दै तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले वर्तमान संविधान विभेदकारी रहेको भन्दै घरघरमा यो संविधानलाई जलाउनुपर्नेमा जोड दिएका छन् । उनले भने ‘मधेश र मधेशी अनुकुल संविधान नबनेसम्म त्यस्तो संविधानको औचित्य नरहेकोले जलाउनुपर्दछ ।’
संयुक्त मधेशी मोर्चा प्रतिनिधित्व प्रणाली जस्तो अहम सवालमा मौन रहेको टिप्पणी गर्दै नेता गुप्ताले भने ‘मोर्चा सत्ता लोभमा आन्दोलनको माइन्डेन्टसमेत विर्सिसकेको छ ।’ भाषा शक्ति र सेतु भएको भन्दै हालै गठित भाषा आयोगले प्रदेशमा बोलिने बहुसंख्यक भाषालाई कामकाजको भाषा बनाइने चर्चा गर्दै उनले भने ‘अब हिन्दी भाषा धरापमा पर्दैछ, यो भाषाको कोई मायबाप छैन ।’
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, पूर्व नेता अनिस अन्सारी, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका प्रवक्ता बलराम यादव, तमरा अभियानका भोला मुखिया, रामदत्त साह, नेताहरु रामगमन साह, गोपाल महतो, नेकपा माओवादीका जयप्रकाश यादव, प्रभाकर सिंह, सद्भावना गजेन्द्रवादीकी नेतृ साबित्री पण्डित, लक्ष्मण साह, तुफान मधेशी, कमाल अहमद, दशरथ यादव, ललित महतो, रामपुकार यादवलगायतले सम्वोधन गरेका छन् । नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन स्वतन्त्र मधेशी मोर्चा नगर समितिका संयोजक उमेश कुमार साह ‘कमाण्डौ’ले गरे । सोही कार्यक्रममा स्थानीय लोक गायक बसिर उद्दीन मधेश आन्दोलनसम्वन्धि गीत प्रस्तुत गरे ।