राजविराज, ३ असोज । असोज ३ गते संविधान जारी भएको दिनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले कालो दिवसको रुपमा मनाएका छन् ।
असोज ३ गते मधेस र मधेसी विरोधी संविधान जारी भएको भन्दै उक्त दिनलाई कालो दिन भन्दै सप्तरीको विभिन्न ठाउ“मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कालो झण्डासहित विरोध प्रदर्शन गरेका हुन् । स्थानीय शिव मन्दिर प्राङ्गणबाट हात र टाउँकामा कालो पट्टी बाँधेर कालो झण्डाकासाथ नगरको विभिन्न भागमा प्रदर्शन गरेको छ ।
प्रदर्शन पश्चात स्थानीय गजेन्द्र चौकमा आयोजित सभामा विभिन्न पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । यता स्वतन्त्र मधेशी मोर्चाले समेत राजविराजस्थित शहिद दशन चौकमा विरोधसभाको आयोजना गरेका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहले वर्तमान संविधान मधेश विरोधी रहेको तथ्यलाई आन्दोलनले समेत विश्वसामु पुष्टि गरिसकेको बताए । संविधान संशोधन नभएसम्म मधेशी जनताले नस्वीकार्ने भन्दै न्यायालय सम्बन्धि निर्णय गरी राज्यको नियोजित षडयन्त्र रहेको उनले बताए । भारत भ्रमणमा जानु अघि नै संशोधन प्रस्ताव लग्ने प्रतिवद्धता गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल बोली फेर्नमा सिपालु रहेकोले उनीमाथि समेत मधेशी जनताले भरोसा गर्ने अवस्था नरहेको नेता साहले बताए ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले वर्तमान संविधानलाई संशोधन नगरेसम्म मधेशी जनताले स्वीकार नगर्ने बताए । मधेश विरोधी संविधानलाई शासकवर्गले जबरजस्ती लाद्ने प्रयास गरिरहेको भन्दै त्यसको परिणाम भयावह हुने उनले बताए । मधेशको मागलाई अझैं बेवास्ता गरे सशक्त आन्दोलनको विकल्प नरहेको बताउँदै नेता साहले एकतावद्ध भएर भिषण आन्दोलनको तयारीमा जुट्नुपर्ने बताए ।
सभामा तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जयप्रकाश ठाकुरले नेताहरुले गणतन्त्र नेपालको संविधानलाई सबैको संविधान बनाउन मधेशका मागहरु संशोधनबाट मात्र पूरा हुने बताए । कार्यक्रममा फोरमका मधेस प्रदेशका मूख्य सचिव शम्भु झा, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य प्रा. अमरकान्त झा, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, दिपेन्द्र चौधरी, युवा नेता युसुफ अलि, मधेशी जन अधिकार फोरम गाणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवसहितका वक्ताहरुले संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला अध्यक्ष अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सद्भावना पार्टीका हरेराम यादवले गरे । सप्तरीको भारदह, रुपनी, कल्याणपुर, भारदह, कञ्चनपुर, बोदेबर्साइनसहितका स्थानहरुमासमेत कालो दिवस मनाईएको हाम्रा सम्वाददाताहरुले जनाएका छन् । 
यसैबीच कालो दिन अन्तर्गतै आज राती साढे ७ देखि ८ बजेसम्म सप्तरीमा ब्लाक आउट गरिने कार्यक्रम रहेको छ ।
यता सप्तरीमा सरकारी स्तरबाट मनाउने भनिएको संविधान दिवस संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका कारण कार्यक्रमहरु आयोजना हुन सकेन । जिल्ला विकास समिति सप्तरीले समेत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आग्रहमा सम्पूर्ण कार्यक्रम स्थगन गरेका छन् ।