राजविराज, २ असोज । देशलाई संकटपूर्ण अवस्थाबाट जोगाउन आन्दोलनरत पक्षको मागलाई अविलम्ब सम्बोधन गर्न बौद्धिक समाज सप्तरीले आग्रह गरेको छ ।
बौद्धिक समाज सप्तरीको आइतबार कर्मचारी मिलन केन्द्रमा सम्पन्न बैठकले यस्तो अग्रह गरेको हो । संविधान संशोधन विना नै कार्यान्वयन तर्फ अगाडि बढ्नु राज्य पक्षको ठूलो भूल हुने भन्दै बेलैमा सचेत नभए यसले देशमा ठूलो द्वन्द निम्त्याउन सक्ने बौद्धिक समाज सप्तरीका सल्लाहकार समेत रहेका वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले बताए ।
देशको आधाभन्दा बढी जनसंख्याले अस्वीकार गरेको संविधान जवरजस्ती लादेर नहुने बताउँदै उनले भने ‘देशलाई द्वन्दबाट जोगाउन अविलम्ब आन्दोलनरत पक्षको भावनालाई बुझेर संविधान संशोधन आवश्यक छ ।’ वरिष्ठ नेता मण्डलले वर्तमान अवस्थामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत पक्षले भनेको जति हुँदैन भन्ने अभिव्यक्ति दिन थालेको तथा प्रधानमन्त्री पुष्पकमल दाहालले छिनछिनमै बोली फेर्ने गरेको र नेकपा एमाले आफै प्रतिक्रियावादी धारमा गइरहेकोले देशको भविष्य अन्यौलमा पर्ने दावी गरे ।
उनले भने ‘देशका राजनीतिक दलहरुले आन्दोलनरत पक्षलाई दवाएरै सिद्धयाउने वा साम्य पार्ने कुरा सोच्नु ठूलो भुल हुनेछ, सत्ता पक्षले संविधान दिवस मनाउँदै छ भने आन्दोलनरत पक्षले यो दिनलाई कालो दिवस मनाउँदैछ, यसले राम्रो सन्देश जादैन ।’ असोज ३ गते मधेशवादी दलले कालो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेकोले सुरक्षा निकायलाई संयमित एवं संवेदनशिल बन्न समेत नेता मण्डलले आग्रह गरेको छ ।
संविधान कार्यान्वयन हुनेमा आशंका रहेको अवस्थामा राज्यले स्थानीय निकायको अधिकारलाई केन्द्रीकृत गर्न खोजेको आरोप लागाउँदै उनले भने ‘स्थानीय निकायको अधिकार केन्द्रमा होइन प्रदेशमा रहनु पर्दछ ।’