• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘मधेश विरोधी संविधानको औचित्य छैन’

राजविराज, २ भदौ । राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले वर्तमान संविधानलाई संशोधन गरी मधेशी जनताको हक अधिकारको सुनिश्चितता नभएसम्म वर्तमान संविधानलाई नस्वीकार्नेमा सहमत भएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीद्वारा आइतवार राजविराजमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो संघर्ष’ विषयक बृहत अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै सद्भावना पार्टीका उपाध्यक्ष नवलकिशोर साहले मधेशी जनताले उठाएको माग वर्तमान संविधानमा लिपिवद्ध नभएसम्म मधेशी जनताले नस्वीकार्ने बताएका छन् ।
बन्दुकको बलमा जबरजस्ती लादिएको संविधानलाई मधेशी जनताले जारी भएकै दिन जलाईसकेको बताउँदै उनले भने ‘मधेश विरोधी संविधान हो भन्ने कुरालाई आन्दोलनले समेत विश्वसामु पुष्टि गरेको छ, संविधान संशोधन नभएसम्म मधेशी जनताले स्वीकार्दैन ।’ न्यायालय सम्बन्धि निर्णय गरी राज्यको नियोजित षडयन्त्र रहेको भन्दै यस्तो भ्रममा नपर्न नेता साहले आग्रह गरे । भारत भ्रमणमा जानु अघि नै संशोधन प्रस्ताव लग्ने प्रतिवद्धता गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल बोली फेर्नमा माहिर रहेको भन्दै उनीमाथि पनि मधेशी जनताले भरोसा गर्ने अवस्था नरहेको उनले बताए ।madheshi-morcha-saptari-2
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले देशको आधाभन्दा बढी जनसङ्ख्याले अस्वीकार गरेको संविधान आफै औचित्यहिन भईसकेको टिप्पणी गरे । ‘जबसम्म वर्तमान संविधानलाई संशोधन गरिँदैन तबसम्म मधेशी जनताले त्यसलाई स्वीकार गर्दैन’ उनले भने ‘मधेश विरोधी संविधानलाई शासकवर्गले जबरजस्ती लाद्ने प्रयास गरे त्यसको जवाफ दिन मधेशी जनता तयार छ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय नेता विपी यादवले वर्तमान संविधानको आयु जारी भएकै दिन समाप्त भईसकेको भन्दै यसलाई कदापि स्वीकार गर्न नसकिने बताए । तराई मधेश लोकतान्त्रिक पार्टीका अर्का सदस्य प्राध्यापक अमरकान्त झाले वर्तमान संविधानलाई संशोधन गर्नुको विकल्प नरहेको बताए । उच्च माध्यमिक शिक्षा परिषद्का पूर्व उपाध्यक्ष प्रा.डा. हेम कुमार मिश्रले बन्दुको बलमा जबरजस्ती जारी गरिएको संविधान औचित्यहिन रहेको भन्दै एकतावद्ध भएर सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
नेपाल निजामति कर्मचारी ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले वर्तमान संविधान विभेदपूर्ण रहेको भन्दै अविलम्ब संशोधन हुनुपर्नेमा जोड दिए । सिमाङ्कनको विवाद र प्रदेशको मुख्यालयको विषयमा टुङ्गो लाग्न बाँकी रहेको अवस्थामा हालै उच्च अदालतसम्वन्धि गरिएको निर्णय पूर्वाग्रही एवम् विभेदपूर्ण रहेको बताउँदै उनले भने ‘२१ अर्ब खर्च गरी आठ वर्ष लगाएर जारी गरेको संविधान कस्तो छ भने कुराको पुष्टि जारी हुन अघिदेखि हालसम्म पनि जारी रहेको आन्दोलनले पुष्टि गरेको छ, अधिकारप्राप्तिको आन्दोलनमा सप्तरीका निजामति कर्मचारीहरुको सहयोग, समर्थन र सहकार्य रहनेछ ।’madheshi-morcha-saptari-1
कार्यक्रममा मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विशेश्वर यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्यहरु विशेश्वर रजक, दिपेन्द्र प्रसाद चौधरी, हरेकृष्ण प्रसाद सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य भरत साह, मधेश रक्षा वाहिणीका अध्यक्ष विनोद कुमार यादव, महिला नेतृ पूनम कुमारी यादव, अमरनाथ मण्डल, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देव, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले असोज ३ लाई कालो दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सङ्घीय समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, नेपाल सद्भावना पार्टीका जिल्ला सचिव अनिल झा, नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष प्रशुराम यादव, तमलोपाका जिल्ला सचिव बौवालाल शर्मा, दलित नेता कैलु राम, गैर सरकारी संस्था महासंघ सप्तरीका सचिव बलदेव कुमार मण्डल, मधेशी निजामति कर्मचारी मञ्चका गङ्गाराम यादव, नेपाल स्वास्थ्यकर्मी युनियनका रामदेव यादव, कर्मचारी पञ्चम कुमार सिंह, चन्द्रनारायण यादवलगायतले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य फोरमका जिल्ला सदस्य केदार यादव तथा सहजिकरण राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले गरे ।