ललितपुर, १ असोज । राजधानी काठमाण्डौको लगनखेलमा रहेको शिक्षक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा आधा दर्जन उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाईसमेत सम्मानित गरिएको छ । ललितपुरमा अध्यापन गराइरहेका ३ सय ३६ शिक्षकहरु शेयर सदस्य रहेको शिक्षक विकास सहकारी संस्थाले साधारणसभाको अवसर पारेर ४० वर्षभन्दा लामो समय अध्यापनमा बिताएका शिक्षकहरुलाई सम्मानित गरिएको छ ।
वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्य लिएर शिक्षकहरु नै सहकारीको माध्यमबाट सक्रिय हुनु सकारात्म्क भएको बताए । उनले भने, ‘शिक्षकहरु मिलेर सहकारी स्थापना गरी शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने काम राज्यकै यस सहकारीले सराहनीय कार्य गरेको छ ।’
उनले आगामी दिनमा शिक्षा क्षेत्रमा निरन्तर अभियान सञ्चालन गर्न आग्रह समेत गरे । विश्वमा सहकारीको माध्यमबाट धेरै ठूलो प्रगति भएको, विकास र आर्थिक उन्नती भएको उल्लेख गर्दै उनले शिक्षक विकास सहकारीले शिक्षकहरुकोलागि उदाहरणीय काम गरेर सहकारी अभियानमा योगदानमा निरन्तर लाग्नुपर्ने बताए ।
कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष तथा केन्द्रीय सहकारी संघका सञ्चालक माधव दुलालले सहकारीहरुकोलागि खतराको घण्टी बजेको भन्दै सचेत रहन आग्रह गरे । उनले प्रस्तावित सहकारी ऐनको मस्यौदामा सहकारी संस्थाका सेयर सदस्य संख्या समेत रजिष्ट्रारले निर्धारण गर्नसक्ने अवस्था रहेको भन्दै सहकारीको क्षेत्रमा कालो धब्बा लाग्न खोजेकाले संसदमा पेश भएको सहकारी विधेयकबारे सबैले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।
ललितपुर जिविसको सभाहलमा सम्पन्न बार्षिक साधारणसभाको अवसरमा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले एसएलसी र उच्च शिक्षामा परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका ६ छोराछोरीहरुलाई सम्मानित गरिएको छ । यसैगरी शिक्षक विकास साकोसले यसैबर्षदेखि दीर्घ सेवा शिक्षक सम्मान तथा गुरु सम्मानकोलागि अक्षय कोष खडा गरेको छ ।
यसवर्षको दीर्घ सेवा सम्मानबाट जगदिश्वर श्रेष्ठ, तेज बहादुर सत्याल (बिदुर) र कुल बहादुर थापा क्षेत्री तथा गुरु सम्मान २०७३ बाट नीर केशरी श्रेष्ठ, शोभाकर दवाडीलाई सम्मानित गरेको छ । साधारणसभाले संस्थाका अध्यक्ष रामकाजी बसन्यातले प्रस्तुत गरेको गतिविधि तथा भावी कार्ययोजना स्वीकृत गरेको छ भने कोषाध्यक्ष टिकाराम गिरीले प्रस्तुत गरेको आयव्यय विवरण समेत पारित गरेको छ ।