• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोसी नदीमा डुङ्गा दुर्घटना अपडेटः बेपत्ता भएकाहरुमध्ये ३७ जनाको सकुशल उद्धार

कोसी नदीमा डुङ्गा दुर्घटना अपडेटः बेपत्ता भएकाहरुमध्ये ३७ जनाको सकुशल उद्धार

सुनसरी, १ असोज । सुनसरीको श्रीलङ्का टापुबाट प्रकाशपुरतर्फ जाँदैगरेको डुङ्गा पल्टिएर शनिवार बेपत्ता भएकाहरुमध्ये ३७ जनाको सकुशल उद्धार गरिएको छ ।
कुल ४५ जना यात्रु बोक्ने क्षमता रहेको डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका यात्रुहरुमध्ये ३७ जना सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको हो । अन्य यात्रु भने अहिले पनि सम्पर्क बाहिर रहेका छन् । शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले उक्त डुङ्गामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् ।
राजावासा आइपुगेपछि भंगालोमा पसेपछि अनियन्त्रित भएर डुङ्गा पल्टिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । डुङ्गामा सवार हुने यात्रुको कतै रेकर्ड नराखिएका कारण यात्रुको संख्या यकिन हुन नसके पनि करिब ६० जना यात्रु चढेको हुन सक्ने स्थानीयवासिन्दाले जानकारी दिएका छन् । वेपत्ता भएकाहरुको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेनालगायत स्थानीय वासिन्दाहरु खटिएका छन् ।
यता डुङ्गा पल्टिएपछि हराईरहेकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले कोसी ब्यारेजमा प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालको नेतृत्वमा ५० जना प्रहरीको टोलीले समेत खोजी कार्य जारी राखेका छन् ।
उनका अनुसार ब्यारेजमा अहिले प्रहरीले स्थानियका १० वटा डुंगा समेत खोजी तथा उद्धार कार्यका लागि नदीमा परिचालन गरिएको छ । डुङ्गा पल्टिएपछि हराईरहेकाहरु बाढीसँगै कोसी ब्यारेज आउन सक्ने भएकाले ब्यारेजमा खोजी तथा उद्धार कार्य तिब्र पारिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिएका छन् । तस्विर सौजञ्यः जिल्ला प्रहरी कार्यालय सप्तरी

koshi-dunga-udhar