सप्तरी, १ असोज । सप्तकोशी नदीमा शनिवार ११.३० बजे डुङ्गा पल्टिंदा २३ जना यात्रु हराईरहेका छन् ।
सुनसरीको प्रकाशपुरबाट ४५ जना यात्रु लिएर कोशीको दक्षिणतर्फ रहेको श्रीलङ्का टापुमा जाँदै गरेको अवस्थामा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा परेका २२ जना यात्रुलाई सकुशल उद्धार गरिएको तथा अन्य २३ जना सम्पर्क बाहिर रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
यता डुङ्गा पल्टिएपछि हराईरहेकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले कोसी ब्यारेजमा प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालको नेतृत्वमा ५० जना प्रहरी हराईरहेकाहरुको खोजीकालागि कोसी ब्यारेज पुगेको छ ।
एसपी ढकालका अनुसार ब्यारेजमा अहिले प्रहरीले स्थानियका १० वटा डुंगा समेत खोजी तथा उद्धार कार्यका लागि नदीमा परिचालन गरिएको छ । डुङ्गा पल्टिएपछि हराईरहेकाहरु बाढीसँगै कोसी ब्यारेज आउन सक्ने भएकाले ब्यारेजमा खोजी तथा उद्धार कार्य तिब्र पारिएको ढकालले जनाएका छन् । यस्तै सुनसरी प्रहरीपनि कोसी ब्यारेजमा परिचालित भएको छ । कोसीको पानीलाई नियन्त्रित गर्न बनाईएको कोसी ब्यारेज सप्तरी र सुनसरीको सिमामा पर्दछ ।