राजविराज, ३० भदौ । सप्तरी जिल्लाको एक मात्र संस्कृत विद्यालयमा संस्कृत र नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्रछात्रा पुरस्कृत भएका छन् ।
सखडास्थित छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षामा संस्कृत र नेपाली विषयमा उक्त विद्यालयमा सर्वाधिक अंक ल्याउने छात्रछात्राहरु पुरस्कृत भएका हुन् । संस्कृत विषयमा सर्वोत्कृष्ठ अंक ल्याएका गत वर्ष र यस वर्षका २ छात्र पं। नित्यानन्द स्मृती पुरस्कार र नेपाली विषयमा सर्वाधिक अंक ल्याएका दुवै वर्षका २ छात्र र २ छात्रा छठु सगुनियाँ स्मृती पुरस्कारबाट पुरस्कृत भएका छन् ।
पत्रकार वैद्यनाथ झाले आफ्ना बुवाको नाममा स्थापना गरेका नित्यानन्द स्मृती पुरस्कारको राशी जनही १ हजार १ रहेको छ भने पत्रकार ध्रुब कुमार मण्डलले आफ्नो हजुर आमा र हजुर बुवाको नाममा स्थापना गरेको छठू सगुनियाँ स्मृती पुरस्कारको राशी जनही ५ सय ५ रहेको छ । संस्कृत विषय तर्फ पुरस्कार पाउनेहरुमा गत वर्ष २०७१ का छात्र राकेश कुमार साह र २०७२ का अर्जुन कुमार खंग रहेका छन् भने नेपाली विषयमा २०७१ सर्वाधिक अंक ल्याएका छात्र सञ्जय सदा र छात्रा आरती कुमारी मण्डल तथा २०७२ मा छात्र राजीव कुमार यादव र छात्रा कञ्चन कुमारी पंडित रहेको थियो ।
विद्यालयका निमित प्रधानाध्यापक रामेश्वर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बाल संरक्षण हाम्रो दायित्व भएकोले कोही पनि शिक्षाको उज्यालो घामबाट बञ्चित नहुनुपर्ने बताए । पत्रकार माला कर्णले पुरस्कारलाई पैसाबाट मुल्यांकन गर्न नमिल्ने बताईन् । कार्यक्रममा पत्रकार ध्रुब कुमार मण्डल, विद्यालयका शिक्षकहरु भोगेन्द्र नारायण झा, अनिल कुमार मण्डल, संस्कृत विषयका शिक्षक हिरालाल खंग, मनोज कुमार मण्डललगायतले मन्तव्य व्यक्त गरे ।
राष्ट्रिय वाल दिवसको अवसरमा उत्त विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, सटपुट, हाई जम्प, लौंग जम्प, दौड छात्र तथा छात्रा तर्फ, संगित प्रतियोगिता, चित्रकला लगायतको प्रतियोगिता गराईएको थियो । सोही अवसरमा विभिन्न विधामा सर्वोत्कृष्ठ गरेका छात्र छात्राहरुलाई विद्यालयले पुरस्कृत गरेका थिए भने कक्षामा सब भन्दा बढी उपस्थित हुने १ देखि १० सम्मका छात्र छात्राहरुलाई समेत पुरस्कृत गरेका थिए ।