राजविराज, २९ भदौं । जिल्ला प्रशासन कार्याल सप्तरीसमेतको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको अखाद्य वस्तु नष्ट गरेको छ ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा खटेको टोलीले जिल्लाको अनुगमन गर्ने क्रममा हनुमाननगर, कञ्चनरुप नगरपालिकाबाट म्याद गुज्रेका, लेवल नभएका खाने तेल, पेय पदार्थ, भुजियालगायतका सामग्रीहरु बरामद गरिएको छ । टोलीले बरमझियाका पेडा पसलहरुमा अनगुमन समेत गरेको छ । पेडा पसलहरुबाट सडेगलेको तथा ढुस्सी लागेको पेडा बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन् ।
राजविराजस्थित नागमणि किराना पसलको दुई वटा गोदाममा अनुगमन टोलीले भन्सार छलेर सामानहरु ल्याएको भन्दै सिलबन्दी गरिएको पत्रकारहरुलाई जानकारी दिईएको छ । यसैगरी राजविराज वडा नम्वर–१ स्थित नागमणी किराना पसलमा दुई दिन अघि टोलीले छापामारी गरेकोमा बुधवार गोदाममा समेत छापामारी गरेर चेकजाँच गरिएको र त्यसक्रममा पसलधनीलाई २४ घण्टाभित्र आवश्यक कागजातसहित राजश्व अनुसन्धान कार्यालयमा हाजिर हुन भनिएको खाद्य निरिक्षक सुरेश कुमार सिंहले जानकारी दिए ।