राजविराज, २९ भदौ । सप्तरीको तिलाठी गाउँ विकास समितिका बाढीपीडितहरुले राहतमा धाँधली भएको भन्दै स्थानीयवासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीयवासिन्दा समेत रहेका पूर्व सभासद् शिवचन्द्र मिश्रको नेतृत्वमा सदरमुकाम आइपुगेका बाढीपीडितहरुले धाँधली विरुद्ध प्रदर्शन गरेका हुन् । सयौंको संख्यामा रहेका तिलाठीवासीले सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई भेटेर राहतमा धाँधली भएको भन्दै गुनासो गरेका छन् । बाढी पीडित सम्वन्धि गाविस सचिवबाट संकलन गरिएको तथ्याङ्क गलत रहेको भन्दै तत्काल सच्याएर बास्तविक बाढीपीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।
राहत वितरण धाँधली भएकोबारे आफूहरुले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी गौतमले सच्याउने प्रतिवद्धता व्यक्त गरेको पूर्व सभासद् मिश्रले जानकारी दिए । आफूहरुको मागलाई बेवास्ता गरिए गाविस कार्यालयमा तालाबन्दी गरेर जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्न बाध्य हुने उनले बताए ।
हालसम्म तिलाठीको वडा नम्वर–२ का केही परिवारलाई मात्र राहत उपलब्ध गराएको भन्दै वास्तविक बाढीपीडितलाई बेवास्ता गर्न नमिल्ने स्थानीयवासिन्दा समेत रहेका जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य देवनारायण यादवले बताए । उनका अनुसार तिलाठीको वडा नम्वर १ मा ४६, २ मा १०२, ३ मा ७५, ४ मा ६५, ५ मा ५१, ६ मा ६४, ७ मा ६७, ८ मा ५८ र ९ मा १३९ बाढी पीडित परिवार रहेको छ ।