• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अस्पताल भर्ना भएको २१औं दिन गोबरगाढाकी झुनाले छोरी पाइन्

अस्पताल भर्ना भएको २१औं दिन गोबरगाढाकी झुनाले छोरी पाइन्

राजविराज, २९ भदौ । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चलमा भर्ना भएकी गर्भवती झुनादेवी यादवले मङ्गलवार राती सकुशल छोरीलाई जन्म दिएकी छिन् ।
न्यूज टुडे दैनिक र अनलाइनका सम्पादक श्यामसुन्दर यादवको विशेष पहल तथा को.बर्साइन स्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट प्रहरी निरीक्षक लालबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले स्टेचरमा बोकेर गत भदौ ८ अस्पताल पुर्याएका थिए । तीन भङ्गालो तर्नुपर्ने अवस्था रहेको तथा पती दुःखी समेत कमाउन पञ्जाब गएको अवस्थामा हनुमाननगर योगिनीमाई नगरपालिका वडा नम्वर–८ निवासी गर्भवती झुना अस्पताल पुग्न नपाई जोखिमपूर्ण अवस्था रहेको विषयमा ‘न्यूज टुडे’ ‘हुलाकी न्यूज डट्कम्’लगायतले प्राथमिकताकासाथ समाचार सम्प्रेषण गरेको थियो ।20160913_210300
राती ८.२२ बजेको समयमा २७ वर्षिया झुनाले दुई किलो आठ सय ग्रामकी शिशुलाई जन्म दिएकी छिन् । पेटमा रहेको बच्चाको धडकन अनियमित भएपछि अस्पतालकी विशेषज्ञ डा. दीपा यादव र डा. ब्रजेश झाले सामान्य अपरेशन गरेर झुना र शिशुलाई जोगाउन सफल भएकी छिन् । हाल आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको डा. यादवले जानकारी दिएकी छिन् । झुनाका पति पञ्जाबमा रहेको तथा आफ्नो सासु–ससुरासमेत दिवङ्गत भईसकेको अवस्थामा न्यूज टुडेका सम्पादक यादवले नियमित रेखदेख एवम् व्यवस्थापन गर्दैआएका छन् ।
अस्पतालमा भर्ना गरिएको अवस्थामा झुनाको स्तनमा संक्रमण, समान्य रक्तश्रावका साथै ज्वरो समेत लागेको थियो । उनले भारतमा अपरेशन गराएको अवस्थामा बन्ध्याकरण अपरेशन अघिकै बच्चा रहेको तथा बच्चा उल्टो रहनुको साथै तौलसमेत कम रहेकोलगायतका समस्या रहेकोले उनलाई अस्पतालका चिकित्सहरुले विशेष निगरानीमा उपचार गर्दैआएका थिए । गोबरगाढाकी स्वयम्सेविका समेत रहेकी उनको उपचारलगायतका खर्चहरु अस्पतालले निःशुल्क अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिपकुमार साहले जानकारी दिएका छन् ।
न्यूज टुडे अनलाइन र हुलाकी न्यूजलगायतका अनलाइनमा समाचार सार्वजनिक भएपछि अधिकारकर्मी रीता साह, साहित्यकार एवम् मैथिली अभियानी रुपा झा, हुलाकी न्यूज डट्कमका सम्पादक वीपी साह, मैथिलीकर्मी निराजन झा, समाजसेवी सरोज राय, विरेन्द्र साहलगायत विदेशमा रहेकाहरुले समेत महिलाको ज्यान जोगाउन विशेष पहल गरेका थिए ।20160913_210251

झुनालाई गोबरगाढाबाट हनुमाननगर ल्याई जेपी लोहिया ट्रष्टको सहयाेगमा एम्बुलेन्समा राखी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । सञ्चार उद्यमी शिवनारायण साह ‘सुरज’ले एम्बुलेन्स लिएर हनुमाननगर पुगेका थिए । गोबरगाढाका हरिनारायण यादवलगायत स्थानीय युवाहरुले महिलालाई ढक्कीमा राखेर दुई ओटा भङ्गालो तारेपछि ९ जनाको सशस्त्र प्रहरीको टोलीले स्ट्रेचरमा राखेर उद्धार गरेका थिए ।
जेठो छोरो प्रदिप ७ वर्ष, छोरी रुक्मिणी ५ वर्ष र कान्छो छोरा कृष्णा ३ वर्षको छ । घरमै भईहाल्छन् कि भन्ने आशमा उनी छट्पटाउँदैआएकी थिइन् । झुनाका पति दुःखी यादव कमाउनकालागि पञ्जाब गएका छन् । उनको घरमा जान्ने बुझ्ने कोही नभएका कारण थप समस्या भएको थियो ।
नजिकको हनुमाननगर बजारसम्म पुग्न करिब ११ किलोमीटर बालुवा तथा घाँसे मैदान एवम् झाडी भएर हिड्नपर्ने हुन्छ । गोबरगाढामा बस्ने महिलाहरुको पीडा कहालीलाग्दो छ । दिनमा यस्तो समस्या आईपरेमा पुरुषहरुको सहयोगमा ढकियामा बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने गरिएको तथा रातीको बेला यस्तो आपत विपत आईदियो भने गाउँमै छट्पटाएर ज्यान गुमाउनुपर्ने अवस्था यहाँका महिलाहरुको नियती रहेको झुनाले बताईन् । आफ्नो जीवनरक्षा तथा सहयोग गर्ने महानुभावलाई उनले धन्यवाद दिएकी छिन् ।20160914_094723
गुहालीको एक कुनामा राखिएको दराजमै रहेको उप–स्वास्थ्य चौकी सिमित छ । गोबरगाढा बस्तीमा करिब ३ सय परिवारको १ हजार २ सय जनसंख्या रहेको छ । चारैतर्फ नदी बगेका कारण असारदेखि असोजसम्मको जनजिवन अति कष्टकर हुने गर्दछ ।