राजविराज, २७ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवम् केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले मुस्लिम समुदायको महान पर्व बकर ईदको अवसरमा शुभकामना व्यक्त छन् ।
सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै बकर ईद पर्वको अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाई एवम् दिदीवहिनीहरुको सुख, समृद्धिकालागि शुभकामना व्यक्त गरेका हुन् । ‘बकर ईद पर्वले देशमा सामाजिक सद्भाव, भाइचारा एवम् स्थायी शान्तिको सन्देश देओस् भनी अल्लाहसँग कामना गर्दछु’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘राज्यको पहँुचबाट टाढिएका मुस्लिम समुदायको महान पर्वहरुमा अझैं पनि राज्यले राष्ट्रिय पर्वको रुपमा मान्यता नदिनु आफैमा दुःखद विषय हो, यद्यपी वर्तमान सरकारले बकर ईद (ईदुल जोहा) मङ्गलवार सार्वजनिक विदा दिने निर्णय सकारात्मक छ ।’
मधेशी, आदिवासी, मुस्लिम, दलित, जनजातिलगायतका समुदायहरुको पहिचान, स्वाभिमान, स्वायतता एवम् समानताकालागि संघर्ष अझैं पनि जारी रहेको भन्दै लामो समयदेखि आन्दोलन जारी रहँदा पनि अझैं राज्यपक्षले विभेदमा पारिएका समुदायको हक अधिकारको सुनिश्चितलाई स्वीकार्न नसकेको राजनीतिक समिति सदस्य साहद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । आन्दोलनका क्रममा मधेशी सपुतहरुले दिएको बलिदानीलाई खेर जान नदिन आ–आफ्नो स्थानबाट एकतावद्ध भएर उठ्नु जरुरी रहेको भन्दै शोषण, दमन एवम् विभेदमा पारिएका समुदायको अधिकारप्राप्तिको आन्दोलन अझैं पनि जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।