• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका सात ओटा प्रहरी ईकाइ पुरस्कृत

राजविराज, २७ भदौ । जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतका ४८ मध्ये उत्कृष्ट ७ वटा ईकाईलाई सोमवार एक समारोहका बीच पुरस्कृत गरिएको छ ।
तीन महिने अन्तर ईकाई कार्य प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिस्पर्धात्मक वातावरणमा प्रहरीलाई आफनो जिम्मेवारी, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुसन्धानमा अझ दक्ष तथा सेवा प्रभावकारी वनाउने उदेश्यले ०७३ वैशाख देखि ३ महिने अन्तर ईकाई कार्य प्रतियोगिता सञ्चालन गरेको थियो । तीन महिनाको अवधिमा सर्वोत्कृष्ट घोषणा भएका ईलाका प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी लक्ष्मीपुरलाई पुरस्कृत गरिएको छ ।
विधागततर्फ उत्कृष्ट घोषित वडा प्रहरी कार्यालय राजविराज र ईलाका प्रहरी कार्यालयहरु भेडिया, महुली, सखडा र रुपनीलाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट र उत्कृष्ट घोषित ईकाईलाई सोमवार एक समारोह बीच प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरे, प्रमुख जिल्ला अधिकारी वलदेव गौतम वरिष्ठ प्रहरी उपरीक्षक उत्तम वहादुर सिंह, प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले कदर पत्रवाट सम्मानित गरेका छन् ।
प्रहरी उपरिक्षक ढकालले कार्यालय ब्यवस्थापन, आचरण र ब्यवहार, अपराध नियन्त्रण, अपराध अनुसन्धान तथा नागरिकसँगको ब्यवहार लगायतका विषयमा अनुगमन र मुल्यांकनको आधारमा उत्कृष्ठ ईकाईहरुको छनौट गरिएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी घिमिरेले पुरस्कृत इकाईहरुलाई वधाई दिदै अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढ वनाउन जनतको सहकार्यमा अगाडि वढ्न सुझाव दिए । सुरक्षित समाज निर्माण गर्न नागरीक र प्रहरी बीचको सम्वन्ध विस्तार गर्दै अघि बढे अपराध नियन्त्रणमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।
सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजका वरिष्ठ प्रहरी उपरीक्षक उत्तम वहादुर सिंहले प्रहरी प्रभाव र दवावबाट मुक्त हुनुपर्ने बताए । आगामी दिनमा सम्वेदनशील एवम् सतर्क भएर काम कार्वाहीलाई निरन्तरता दिन निर्देशन समेत दिए ।
कार्यक्रममा कृष्ण दल गणका गणपति डम्बर बहादुर बोहरा, सशस्त्र प्रहरी उपरीक्षक जय बहादुर खड्कालगायतका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले गरे ।