वीरगञ्ज, २६ भदौ । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्वर– १ को आइतवार सम्पन्न बैठकले क्षेत्रिय कार्यसमिति विस्तार गर्नुका साथै विभिन्न निर्णय गरेको छ ।
कार्यालयहरुमा जनताको काम सहज र सरल सेवाकालागि विभिन्न निर्णय गरेको छ । क्षेत्रिय सभापति विजय सर्राफको सभापतित्वमा सम्पन्न बैठकले हाल सरकारी कार्यालयमा जनताका कामप्रति बेवास्ता भई रहेको भन्दै जनसरोकारका कार्यालयहरुमा जनताको काम छिटो छरितो र सहज रुपमा सम्पन्न गर्न सरकारी कार्यालयहरुमा दबावमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पहिलो चरणको दबावमुलक कार्यक्रम अन्तर्गत यातायात व्यवस्था कार्यालयमा भदौ ३० गते, नापी तथा मालपोत कार्यालयमा भदौ ३१ गते धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी बैठकले संगठनलाई अझ सशक्त रुपमा अगाडी बढाउन थप १८ जना सदस्यहरुलाई क्षेत्रिय कार्यसमितिमा मनोनित गरेको छ ।
मनोनित हुनेहरुमा सञ्जय अग्रवाल, अफरोज मियाँ, मनोज कुमार जैसवार, महमद रियाज, लालकिशोर सिंह, मजहर आलम, मोतिलाल हलुवाई, विश्वम्भर शर्मा, गयासुद्दिन ठकुराई, नासिर अलि, कमरुल होदा, रामकेश्वर कुशवाहा, सेराज अहमद, अशोक सर्राफ लगायतका रहेको क्षेत्रिय सदस्य विजय कुशवाहाले बताए ।