• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको तीन स्थानमा युवाहरुद्वारा सरसफाई

सप्तरीको तीन स्थानमा युवाहरुद्वारा सरसफाई

राजविराज, २५ भदौ । सप्तरीका युवाहरुले एकै दिन जिल्लाको विभिन्न तीन स्थानमा सरसफाई गरेका छन् ।
सदरमुकाम राजविराजसहित क्षेत्र नम्बर १ र ३ मा सरसफाई गरिएको हो । सप्तरीका ६ वटै क्षेत्रमा सरसफाई गर्ने लक्ष्य रहेपनि शनिबार बिहान परेको पानीका कारण सबै ठाउँमा सरसफाई हुन नसकेको जनाईएको छ । ५० हप्ते सरसफाई अभियान प्रारम्भ गरेका युवाहरुले दोस्र्रो हप्ता राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालसहित जिल्लाको सबै क्षेत्रमा सरसफाई गर्नै निर्णय गरिएपनि शनिबार बिहान पानी परेका कारण तीन ठाउँमा मात्रै सरसफाई हुन सकेको समिति सदस्य बिष्णु यादवले जानकारी दिएका छन् ।
अञ्चल अस्पतालसहित क्षेत्र नम्बर–१ को कञ्चनरुप नगरपालिकास्थित रुपनगर चोकमा र क्षेत्र नम्बर ३ को इटहरी बिष्णुपुरस्थित रुद्रनारायण माविमा सरसफाई गरिएको छ । अञ्चल अस्पतालको आकस्मिक कक्षसहित प्राङ्गण र बिभिन्न वार्डहरुमा सरसफाई गरिएको छ । उक्त अवसरमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप साह, जनस्वास्थ्य प्रमुख डा. विजय झा, नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु गुरुङ्ग, यादव सेवा समितिका अध्यक्ष प्रयागलाल यादवसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अस्पताल प्राङ्गणमा रहेका औषधि पसल अगाडि फोहोर फ्याँक्ने कन्टेनर रहेपनि पसलेहरु भुइँमै फोहोर फ्याँकेको देखेपछि युवाहरुले यो फोहोर सम्बन्धित पसलमै राखिदिए पश्चात पसलेहरुले आफैं कन्टेनरमा राखेका थिए । यस्तै क्षेत्र नम्बर १ मा भावना पौडेल र उत्सव आचार्यको नेतृत्वमा तथा क्षेत्र नम्बर ३ मा मिथिलेश यादवको नेतृत्वमा सरसफाई गरिएको छ ।
रुपनगरमा आयोजित सरसफाई कार्यक्रममा बोल्दै संयोजक भावना पौडेलले आफूले फालेको फोहर आफैंले व्यवस्थित गर्नुपर्ने बताइन् । सञ्चारकर्मी उत्तम आचार्यले युवा भनेको समाजलाई रुपान्तरण गर्ने शक्ति भएको हुँदा आफ्नो सोंचलाई परिवर्तन गर्नुपर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी, नगरस्तरीय बाल क्लव सञ्जालका सदस्यहरु, सप्तरी युवा मूल समितिका सदस्यहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा बनेको युवा समितिले युवा सम्मेलन गराउँदै सरसफाईको अभियान प्रारम्भ गरेको छ ।