राजविराज, २४ भदौ । नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीको सप्तरी जिल्लामा शुक्रवार एक कार्यक्रमका बीच घोषणा गरिएको छ ।
राजविराज जेसिजको हलमा आयोजित कार्यक्रममा पार्टीको घोषणा गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी पूर्व कर्मचारी नेत्र प्रसाद भट्टराईलाई दिइएको हो । कार्यक्रममा पार्टीका वरिष्ठ सल्लाहका वसन्तराज कुँवरले झण्डा माइन्युटलगायतका सामग्रीहरु हस्तान्तरण गरेका छन् । कुल २१ सदस्यीय रहने समितिको बाँकी पदाधिकारीहरुको चयन आवश्यक गृहकार्य पश्चात गरिने उनले जानकारी दिए ।
सोही कार्यक्रममा वरिष्ठ सल्लाहकार कुँवरले देशको अर्थतन्त्र जर्जर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै देश बनाउन नयाँ व्यक्तिहरुको राजनीतिमा प्रवेश हुनुपर्नेमा जोड दिए । गाउँदेखि केन्द्रसम्म राज्य सञ्चालन गर्ने स्थानमा सक्षम, इमान्दार व्यक्तिहरुलाई यसै दलमार्फत पुर्याउनुपर्ने बताउँदै उनले भने ‘यसै दलमार्फत नयाँ नेपाल निर्माण अभियान शुरु गर्नु आवश्यक छ ।’
भावी सन्ततिहरुको सुख, समृद्धि र सुरक्षाकालागि मजबुत नेपाल बनाउन देशभित्र विभिन्न नयाँ खालका योजनाहरुको परिकल्पना पार्टीले गरेको उनले जानकारी दिए । हिमाल, पहाड र मधेश नेपालमा बस्ने सम्पूर्ण नेपालीको साझा घर भएको भन्दै राष्ट्रिय एकता र अखण्डतालाई आत्मसात गर्दै देशलाई समृद्धिको बाटोमा डोर्याउने आफूहरुको लक्ष्य भएको बताए ।
पूर्व एसएसपी समेत रहेका उनले मधेशमा जग्गा प्लटिङ्ग गरेर माटोको परीक्षण गरी सुहाउँदो कृषिजन्य उत्पादन गरिने बताए । रोजगारीकालागि विदेश जाने युवाहरुले स्वदेशमै राम्रो आम्दानी कमाउनसक्ने दावी गर्दै उनले भने ‘यो पार्टीमा पूर्व राष्ट्रसेवक कर्मचारी मात्र नभई विभिन्न क्षेत्रका व्यक्तिहरु समेत रहन पाउँछ ।’
कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीकासाथै जिल्ला पूर्व राष्ट्रसेवक कर्मचारीहरुको सहभागिता रहेको थियो ।