• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शहिद रामकृष्ण राउत ट्रष्टद्वारा दुई छात्रलाई छात्रबृति

शहिद रामकृष्ण राउत ट्रष्टद्वारा दुई छात्रलाई छात्रबृति

भारदह, २३ भदौ । तेस्रो मधेश आन्दोलनको क्रममा गत भदौ २३ गते शहादत प्राप्त गरेका रामकृष्ण राउतको स्मृति दिवसका अवसरमा दुईजना छात्रलाई विहीवार सप्तरीको भारदहमा छात्रवृत्तिसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
कंकालिनी मावि पोर्ताहाबाट एसएलसी २०७२ मा उत्कृष्ट रुपेश कुमार राय र बी.पी. मावि भारदहका मुकेश कुमार मण्डललाई नगद दुई हजार पाँच सय रुपैयाँका दरले शहिद रामकृष्ण राउत मेमोरियल ट्रष्टद्वारा छात्रवृत्ति प्रदान गरिएको ट्रष्टका अध्यक्ष ई. राजकुमार राउतले जानकारी दिएका छन् । स्मृति दिवसका अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका तराई÷मधेस प्रदेश अध्यक्ष रेणु यादवले मधेसीको माग पुरा भएसम्म आवश्यकता अनुसार स्वरुप परिवर्तन गरी आन्दोलन जारी रहने बताइन् ।
शहिद रामकृष्ण राउत मधेसीकालागि बलिदानी दिएको भन्दै उनको रगतले सम्पूर्ण मधेशीकालागि इतिहास बनाएको नेतृ यादवले बताईन् । तीन दलले जारी गरेको संविधान आफैं त्रुटीपूर्ण रहेको र संविधान संशोधन गरी मधेशीको माग पूरा नहुन्जेलसम्म सरकारमा नजाने समेत उनले बताइन् ।
कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले मधेशीको माग पूरा नभएसम्म हाम्रो पार्टी सरकारमा सामेल नहुने प्रष्ट पारे । तराई मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाले जुन उद्देश्यका साथ आफूहरुले आन्दोलन गरेका हौं त्यसको लक्ष्य पूरा नहुन्जेलसम्म आन्दोलन नरोकिने बताए ।
गाउँ कमिटीका अध्यक्ष योगेन्द्र यादवको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपाल गाउँ कमिटी पोर्ताहाद्वारा आयोजित स्मृति दिवसमा शिक्षक फोरमका जिल्ला सदस्य श्यामदेव यादव, भारदह आन्दोलन परिचालन समितिका संयोजक विरेन्द्र माझी, किसान फोरमका रामु विश्वास, बेचन खड्गा, चन्द्र नारायण यादव, प्रमानन्द मण्डल, प्रदेश समिति सदस्य राधेश्याम पण्डित, कौशलेन्द्र यादव, सुरेन्द्र यादवलगायतले शहिद राउतको योगदानबारे चर्चा गरे ।