वीरगञ्ज, २२ भदौ । नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व उद्योग मन्त्री अनिल कुमार झालाई ज्यान मार्ने योजना बनाउने अपराधीहरुमाथि कडा कारवाही गर्न नेपाल सदभावना पार्टी जिल्ला कार्य समिती पर्साले माग गरेको छ ।
पार्टीका पर्सा अध्यक्ष मनोज कर्णले बुधवार एक प्रेस बिज्ञप्ती जारी गरी आरोपीहरुलाई कारवाही गर्न माँग गरेको हो । बिज्ञप्ती जारी गर्दै कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्गललबार घटनाका मुख्य योजनाकार दुई जना क्रमशः रौतहट मुडवलवा ३ का २७ बर्षिया मुन्ना कुमार यादव र बगही १ का ३९ बर्षिय अवधलाल महतोलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएका छन् । प्रहरीका अनुसार उनीहरु फिरौती माँग गरेको र रकम नदिए हत्या गर्ने योजना बनाएको तर उनीहरुको योजना प्रहरीले बिफल पारेको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरिक्षक गणेश रेग्मीले बताएका थिए ।
घटनाको गहिरो अनुसन्धान गरी अन्य व्यक्तिलाई उन्मुक्ति दिने र राजनितीकरण गर्ने खतरा रहेकोले हाम्रा पार्टीका श्रद्धेय नेता झा संग जोडिएको हत्या जस्तो गम्भिर बिषयमा कुनै पनि अपराधि प्रवृतिका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बिज्ञप्ती मार्फत सचेत गराएको छ । पक्राउ परेका मुख्य योजनाकारलाई कडा कारवाही संगै योजनाको बिस्तृत बिवरण सार्वजनिक गर्न पार्टीले जोडदार समेत माँग गरेको छ । झा नेपाल सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता समेत हुन् ।