बिराटनगर, २१ भदौ । विराटनगर–१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा बिभत्स रुपमा हत्या गरिएको शवको पहिचान भएको छ ।
श्रेष्ठको घरमा भेटिएको शव विराटनगरको तीनटोलियास्थित सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होस्टलमा काम गर्दै आएका सुनसरी औरावनी–५ का विनोद यादवको भएको प्रहरीले पुष्टि गरेको छ । श्रेष्ठको घरमा भदौ १५ गतेदेखि सिरहाका २० वर्षीय राकेशकुमार यादव, १९ वर्षका सरोज यादव र कृष्ण यादव, सप्तरीका १८ वर्षीय जितेन्द्र साह र १३ वर्षका मनोजकुमार साह भाडामा बस्दै आएका थिए ।
मृतक यादव हिजोसाँझ उनीहरुको कोठामा पार्टी खान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार हत्याको कारण भने खुलेको छैन । श्रेष्ठको घरमा बस्ने १३ वर्षीय मनोजकुमार साह बाहेक अरु ४ जना भने फरार छन् । उनीहरुले १३ वर्षीय मनोजलाई कोठामा थुनेर भागेको पाइएको छ ।
उनी प्रहरी नियन्त्रणमा छन् । १३ वर्षीय मनोजले प्रहरीलाई बताए अनुसार आफूलाई गएराति कोठामा बसेर पढ भन्दै उनीहरु सबै खानपिनमा बसेका थिए । शव पोष्टमार्टमकालागि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । मृतकको टाउको र घुँडाभन्दा मुनिको भाग बोरामा हालेर राखिएको अवस्थामा फेला परेको छ भने जिउ डसनामा बाँधेर राखिएको अवस्थामा फेला परेको छ । घटनास्थलमा मदिराको बोतल र तासको गड्डी भेटिएको प्रहरीले जनाएको छ ।