राजविराज, २१ भदौ । नेकपा एमालेका सचिव शंकर पोखरेलाई आफैले गरेको ट्वीट घाँडो भएको छ । उनले मङ्गलवार विहान ९.४१ बजे ‘मधेशी जनता अधिकांश कालो वर्णका छन् । मधेशी मोर्चाले असोज ३ गतेलाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या हो कि अपमान ? भनी सामाजिक सञ्जाल आफ्नो ट्वीटरमा लेखेका थिए । नेता पोखरेलको ट्वीट सार्वजनिक भए लगत्तै उनको यो स्टाटस अहिले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा भाइरल बनेको छ । यतिमात्र होइन, मिडियाहरुले उक्त स्टाटसलाई प्राथमिकताकासाथ स्थान दिएका छन् ।
पूर्व सञ्चारमन्त्री समेत रहेका एमाले नेता पोखरेलको विवादित एवम् पूर्वाग्रही स्टाटसप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमा हज्जारौंले टिप्पणी गरेका छन् । उनको स्टाटसप्रति सञ्चारकर्मी महेश चैरिसयाले फेसबुकमा यस्तो लेखेका छन् ‘एमाले अध्यक्ष केपी ओली मात्रै पागल होलान् भनेको त एमालेका युवादेखि बृद्धसम्म जम्मै पागल रहेछन् । एमालेको मानसिक रोगी सचिव शंकर पोखरेलको नश्लीय अभिब्यक्तिको जति निन्दा गरे पनि कम छ । के यही हो मधेशप्रति एमालेको दृष्टिकोण ? मधेशसँग उनले तत्काल क्षमा माग्नु पर्छ । पोखरेललाई बौद्धिक ठानेको त उनी विचारले दरिद्र पो रछन् ।’
कान्तिपुर दैनिकका पत्रकार एवम् साहित्यकार श्यामसुन्दर शशीले फेसबुका यस्तो स्टाटस लेखेका छन् ‘शंकर कमरेडको नश्लवादी विचार पढेर दुःख लाग्यो । वर्गसंघर्षको वलिवेदीमा निर्माण भएको पार्टीका नेताको यस्ता विचारले मुलुकमा हिंसा भड्किदैन, कसरी भन्न सकिन्छ ? आफ्नो ओहदाको ख्याल गरौं कमरेड । नेताको कुरा गर्दिन तर तपाईको पार्टीका मतदाता पनि मधेसमा छन । थाहै होला ।’
सञ्चारक अनलाइनका सम्पादक अनिल कर्णले ‘गोरो वर्णका एमालेका बुद्धिजीवि आदरणीय विजय सर र युवा नेता भाइ सञ्जीव, ओली पुराण लेख्दा कालो वर्णलाई शंकर पोखरेलकै भाषामा गाली गर्नु होला । शायद यसको बाछिटा तपाईहरुमाथि पर्दैन । ओलीजलले स्नान गर्ने एमालेहरुलाई मधेशी भनेर सराप्दा विष लाग्दैन हौ ।
सामाजिक अभियन्ता सरोज रायले नेता पोखरेसँग प्रश्न गर्दै फेसबुकमा लेखेका छन् ‘तपाईलाई समस्या कोसँग छ, कालो वर्ण भएको मधेशी संग कि मधेशी मोर्चासँग ? जसले सरकारबाट धपायो, हामीलाई कालो भनेर आफ्नो तुलना कतै गोरे अंग्रेजसँग त गर्नु भएको छैन !’ म यादव कुलबाट हो, यदुवंशी (गोपालवंशी) अर्थात कृष्णवंशज भगवान श्रीकृष्णको वंशज जसलाई ’साँवला’ (काले) भनेर पनि चिनिन्छ र तपाई पनि पक्कै त्यही काले श्रीकृष्णको अगाडि हजारो पल्ट नतमस्तक भईसक्नु भएको होला। एक चोटी अझ जानुस, आफै सब बुझ्न थाल्नुहुन्छ । यसरी गैर जिम्मेवार ट्वीट गरेर बन्न लागेको सद्भाव नबिगार्नुस ! अनुरोध छ ।
यस्तै रेडियोकर्मी नेहा झाले नेता पोखरेलको ट्वीट आफ्नो फेसबुकमा राखेर यस्तो टिप्पणी गरेकी छिन् ‘आदरणीय कामरेड शंकर पोखरेलज्यू, सम्माननीय केपी ओलीज्यूले सुरु गर्नुभएको कालो वर्णका मधेशी जनताको अपमान गर्ने श्रृंखलाकै क्रममा आएको तपाईको यस अभिव्यक्तिप्रति कुनै आग्रह पुर्वाग्रह नराखी तपाईलाई यति मात्र विश्वास दिलाउन चाहन्छौं की यस वर्ष पनि असोज तीनका दिन नेपाल दुई कित्तामा विभाजित हुने नै छ । मधेशी मोर्चाको बारेमा केही भन्नु छैन । नब्बे प्रतिशत मधेशी जनताले गएको वर्ष असोज तीन गते कालो दिवस मनाएकै थिए । यस वर्ष पनि त्यो कालो दिनको सम्झनामा कालो दिवस मनाइने नै छ । यसबाट तपाईजस्ता गैरकालो वर्णका राष्ट्रवादीहरुलाई पर्नजाने असुविधाप्रति हामीलाई खेद छ । दिपावली गर्नेले दिप सजाउने तयारी गरुन् । मधेश अहिले आफ्ना सपुतहरुको वर्षीमा शोकमग्न छ ।’
सञ्चारकर्मी पुरन गुप्ताले यस्तो प्रतिक्रिया लेखेका छन् ‘संविधानसभाको चुनाव हारेका पोखरेलको मानसिक अवस्था विग्रदै गएको पुष्टि हुँदैछ । जसको संस्कारमा खोट हुन्छ, बेलाबेलामा यस्तै पागलपन गरिरहन्छ । यो उसको गल्ती होइन, उनका पुर्खाको कमजोरी हो । हे एमालेका मधेसीयाहरु, अव त तिमीहरुको आफ्नै दाइले कालो मर्सिया भनिसके अझैं लाज लागेन ?
अच्युतम कुमार अनन्त फेसबुकमा यस्तो प्रतिक्रिया लेखेका छन् ‘भाषाको माध्यमबाट मन मष्तिष्कको कुरा बाहिर आउँछ । शंकर पोखरेल आफ्नो अन्तरआत्माको कुरा बाहिर ल्याई स्पष्ट गरिदिनु भो । हामी मधेशी अहिलेसम्म मनको कुरा भित्रभित्रै राखेको छौं ।’ जयकुमार यादवले एमाले नेता पोखरेलले ट्वीटर मार्फत गरेको प्रश्नको यसरी उत्तर दिएका छन् ‘पोखरेल जी, कालो र गोरो को कुरा नउठाउनुस्, नत्र अफ्रिकाको अवस्था आउन सक्छ ।त्यहाँ पनि काला र गोराकै कुरा उठ्दा आएको परिणाम हामी सबैलाइ थाहा नै छ ।त्यसैले राष्ट्रिय एकता नै खल्बलिने खालका ट्वीट् नगरिदिनुस् ।’
एमाले नेता शंकर पोखरेको ट्वीट सामाजिक सञ्जालमा पोष्ट भए लगत्तै आक्रोशपूर्ण प्रतिक्रियाहरु आउने क्रम रोकिएको छैन । आगोको झिल्का झैं उनको यो प्रतिक्रिया यतिबेला भीषण आगलागीको रुप लिईसकेको छ । नेता पोखरेल, पार्टीका नेता मात्र नभई सिङ्गो पार्टीप्रति व्यापक रुपमा आक्रोशपूर्ण आलोचना आउन थालेपछि उनले ट्वीटरको पोष्ट हटाएका छन् । तर उनले उक्त पोष्ट हटाउनु अघि हज्जारौं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कपी गरिसकेका छन् । मधेशी जनताको अपमान हुने गरी ट्वीट गरिएको भन्दै खासगरी मधेशी समुदायले आक्रोशित बनेका छन् ।